बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाई मारेको आरोपमा जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ । सो फैसलासँगै आलम ललितपुरको नख्खु कारागारबाट रिहा भएका छन् ।
न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला उल्टाउँदै आलमसहित अन्य तीन अभियुक्तलाई सफाइ दिएको हो । अदालतले आलमविरुद्ध १२ वर्षअघि बम विष्फोट र ज्यान मार्ने उद्देश्यले इँटाभट्टामा मान्छे जलाएको भन्ने अभियोग पुष्टि हुने पर्याप्त वस्तुनिष्ठ प्रमाण नभएको ठहर गर्दै जिल्लाको फैसला उल्ट्याएको हो ।
घट्ना विवरण
२०७६ सालमा पक्राउ परेका आलममाथि २०६४ चैत २७ गते संविधानसभा निर्वाचनका बेला रौतहटको राजपुर फरहदवा–४ स्थित आफ्नै घरमा बम बनाउने क्रममा विस्फोट गराई घाइते भएका त्रिलोकप्रताप सिंह (पिन्टु) र अख्तर मियाँलाई इँटाभट्टामा जलाएर मारेको अभियोग थियो ।
आलमले चुनाव जित्न भारतबाट बम विष्फोटमा निपुण व्यक्ति ल्याई बुथ कब्जाको रणनीति बनाएको तर, बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरूलाई आफन्तको गोठबाट उठाएर आफ्नै इँटाभट्टामा जलाई मारेको भन्दै आलममाथि मुद्दा चलाइएको थियो ।
सर्वोच्च अदालतले २०७६ असार ६ मा प्रहरी प्रशासनलाई आलमको मुद्दामा तत्काल छानबिन अगाडि बढाउन निर्देशन दिएपछि अनुसन्धान गरिएको थियो । त्यसअघि भने राजनीतिक प्रभावका कारण आलमविरुद्ध प्रहरीमा जाहेरीसमेत दर्ता गरिएको थिएन । २०७६ कात्तिक १८ गते आलमसहित ११ जनाविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । रौतहट अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।
सरकारी वकिल सर्वोच्च अदालत जाने तयारीमा
उच्च अदालतबाट सफाइ पाएका आलमका विरुद्ध सर्वोच्च अदालत जाने तयारी भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ । वीरगन्जस्थित उच्च सरकारी वकिल कार्यालयका प्रमुख कोषहरि निरौलाले आलमसहित अभियुक्तहरू दोषी देखाउने प्रमाणहरू पर्याप्त रहेको दाबी गर्दै सर्वोच्चमा पुनरावलोकनका लागि जाने बताए ।
‘उच्च अदालतले के आधारमा सफाइ दियो, त्यो हेरेर विश्लेषण गर्छौं,’ निरौलाले भने, ‘हामी फैसला प्राप्त भएपछि सर्वोच्चमा जाने तयारीमा छौं ।’








