राजावादीको प्रदर्शन बढ्दै गएको र नारायणहिटी दरवार खाली गर भन्ने जस्ता नारा लागिरहेकोबेला काठमाडौं प्रशासनले नारायणहिटी दरबार संग्रहालयवरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि लागू हुने गरी असार २४ गतेसम्मका लागि दरबार संग्रहालय क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
जारी गरिएको सूचनाअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र तोकिएका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जनाएका छन् ।










