२ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025

ट्रम्प–पुटिन अलास्का वार्ता : के युक्रेन युद्ध अन्त्यको ढोका खोल्ला ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी १५ अगस्टमा अमेरिकाकव अलास्कामा प्रत्यक्ष भेटवार्ता हुने भएको छ । रुस–युक्रेनबीच युद्धविरामका लागि ८ अगस्टको समयसीमा तोकेर दबाब सिर्जना गरेका ट्रम्पले अन्ततः वार्ता नै प्राथमिकतामा राख्दै यो भेट तय गरेका हुन् ।

यो बैठक युक्रेन युद्धको समाधान खोज्ने प्रयासमा भएको भए पनि यसको स्वरूप र सम्भावित परिणाम विवादास्पद देखिन्छ । ट्रम्पले चुनावी वाचा अनुसार २४ घण्टाभित्र युद्ध अन्त्य गर्न सक्ने दाबी गर्दै आएका छन् । तर अघिल्ला तीन चरणका रूस–युक्रेन वार्ताले ठोस प्रगति गर्न सकेका छैनन् ।

हालको तालिका अनुसार यो बैठक दुईपक्षीय हुने भएको छ, जसमा युक्रेन सहभागी छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले आफूलाई बाइपास गरेर हुने कुनै पनि सम्झौता “मृत निर्णय” हुने चेतावनी दिएका छन् । उनले रुसलाई कब्जा गरेका भूभागका साटोमा शान्ति दिने कुनै पनि प्रस्ताव अस्वीकार गरेका छन् ।

ट्रम्प प्रशासनले युरोपेली नेताहरूमाझ यस्तो प्रस्ताव अघि सारिरहेको छ जसअनुसार रुसलाई क्राइमिया र डोनबास क्षेत्रको नियन्त्रण रहन दिने तर खेरसोन र जापोरिज्झिया फिर्ता गराउने सम्भावना छ । यो “भू-स्वाप” प्रस्ताव युक्रेनको संविधान विपरीत मात्र नभई दीर्घकालीन स्थायित्वका लागि पनि विवादास्पद ठहरिने सम्भावना छ ।

अलास्का ऐतिहासिक रूपमा १८६७ मा रुसबाट अमेरिकाले किनेको भूभाग हो । भौगोलिक नजिकपना र ऐतिहासिक सम्बन्धका कारण यो स्थल रोजिएको बताइएको छ । रुसका लागि ब्यारिङ जलसन्धि मात्र पार गरेर पुग्न सकिने स्थान भएकाले यो व्यावहारिक पनि देखिन्छ ।

यो वार्ता युद्ध अन्त्यको मार्ग खोल्ने अवसर बन्न सक्ने भए पनि युक्रेनको प्रत्यक्ष संलग्नता नभएको कारण यसप्रति गहिरो संशय छ । ट्रम्पको प्रस्तावित भू-स्वापले तत्काल युद्ध रोक्ने सम्भावना भए पनि यसले भविष्यमा नयाँ विवादको बीज रोप्ने खतरा उच्च छ । दुवै पक्षको अडान कडा रहँदा र अन्तर्राष्ट्रिय समुदायको सहमति कठिन हुने देखिँदा, अलास्काको बैठक निर्णायकभन्दा प्रतीकात्मक हुने सम्भावना धेरै छ ।

– अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको आधारमा तयार पारिएको आलेख ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  १० : ३१ बजे