सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी नेपालका विभिन्न जिल्लाबाट व्यक्तिलाई भारत पुर्याई मिर्गौला बेचबिखनमा संलग्न भएको खुलेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार सुनकोशी गाउँपालिका–७ का ३८ वर्षीय भण्डारी करिब सय जनाभन्दा बढीलाई मिर्गौला बेच्न लगाएको आशंका गरिएको छ ।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीका अनुसार प्रारम्भिक सोधपुछमा भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ अस्पताल र विभिन्न क्लिनिकका एजेन्टसँग मिलेर कम्तीमा २५ जनाको मिर्गौला निकालिएको स्वीकारेका छन् । तर प्रहरीले भण्डारी सय जनाभन्दा धेरैको मिर्गौला बेचबिखनमा संलग्न भएको तथ्य फेला पारेको जनाएको छ ।
भण्डारी र उनको टोलीले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाका विपन्न व्यक्तिलाई प्रलोभन दिएर दिल्ली पुर्याउने गर्थे । ‘एउटा मिर्गौला दिँदा मान्छे मर्दैन, स्वास्थ्यमा असर हुँदैन’ भन्दै प्रलोभन देखाइने र मिर्गौला दिने व्यक्तिलाई प्रतिव्यक्ति ५० हजार दिने गरिएको प्रहरीले जनाएको छ ।
पीडितलाई नेपालमै गाडीको व्यवस्था गरी दिल्ली पुर्याई लाजपत नगरस्थित एक होटेलमा राख्ने, त्यहाँ खानेबस्नेको सुविधा दिने, अस्पतालका कर्मचारीले त्यहीँ रगतको नमुना संकलन गर्ने गरेको तथ्य अनुसन्धानमा खुलेको छ । मिर्गौला निकाल्नुअघि पीडितलाई आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिने, इन्जेक्सन दिएर बेहोस बनाएर मिर्गौला झिक्ने गरिएको प्रहरीले बताएको छ । मिर्गौला निकालिएपछि पीडितलाई ३–४ दिन अस्पतालमा राखेर नेपाल पठाइने गरेको छ ।
भण्डारीलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको हो भने उनका सहयोगी सुजन भारतीलाई वीरगन्जबाट पक्राउ गरिएको छ । प्रहरीसँगको बयानमा भारतीले आफूले पनि मिर्गौला बेचेको र दिल्लीमै बसेर भण्डारीलाई सहयोग गरेको स्वीकार गरेका छन् । एक जनाको मिर्गौला निकालेपछि उनले प्रतिव्यक्ति ४० हजार लिने गरेको प्रहरीलाई बताएका छन् ।
यसअघि नै काठमाडौं, नुवाकोट र काभ्रेपलाञ्चोकबाट पक्राउ परेका राकेश नेपाली, समीर नेपाली र कुमार उर्फ राजकुमार नेपालीको बयानका आधारमा प्रहरी भण्डारीसम्म पुगेको हो ।
‘अपरेसन लाइफ सिल्ड’ नामक विशेष अभियानमार्फत प्रहरीले मानव अंग खरिद–बिक्रीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएको हो । अपरेसन सुरु गरेको केही दिनमै तीन सदस्य पक्राउ परेका थिए ।
पक्राउ परेकाविरुद्ध संगठित अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ । यस ऐनमा मानव अंग बेचबिखनमा संलग्नलाई १० वर्ष कैद र २ देखि ५ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान छ । संगठित अपराध निवारण ऐन २०७० बमोजिम सजायमा डेढी बढाई थप सजायसमेत हुने व्यवस्था छ ।
हालसम्म पाँच जना पीडितले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । उनीहरूले मिर्गौला बेचबापत ६ लाख दिने प्रलोभन देखाइए पनि रकम नदिएको उजुरी गरेका छन् । सिन्धुलीका खिलबहादुर भुजेलले ‘होटलमा सजिलो काम पाइन्छ’ भन्ने बहानामा भारत पुर्याई मिर्गौला निकालिएको र रकम नदिएको बयान प्रहरीलाई दिएका छन् ।
प्रहरीले यो प्रकरणलाई नेपालकै सबैभन्दा ठूलो मिर्गौला तस्करी प्रकरणका रूपमा लिँदै थप अनुसन्धान अघि बढाएको जनाएको छ ।









