२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

‘हामी नेपाल’ लाई जेन–जी आन्दोलनबाट पूर्णतया अलग गर्ने सुदनको घोषणा



‘हामी नेपाल’ का संयोजक सुदन गुरूङले आफ्नो संस्थालाई जेन–जी आन्दोलनबाट पूर्णतया अलग गर्ने घोषणा गरेका छन्।

गुरूङले फेसबुकमार्फत गरिएको भिडियो प्रसारणमा भनेका छन्, “अब जेन–जी र हामी नेपाललाई पूर्णतया अलग गराउने हाम्रो सोचाइ छ। हामी नेपाल सामाजिक संस्था हो र विगतमा जस्तै सामाजिक काममा मात्र केन्द्रित हुनेछ।”

जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरूङ सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा समेत सक्रिय देखिएका थिए। कार्कीको शपथग्रहण समारोहमा उनी उपस्थित रहेका थिए भने मन्त्री नियुक्तिसम्बन्धी टिप्पणीसमेत गरेका थिए।

उनले ‘हामी नेपाल’ लामो समयदेखि समाजका बेथिति, विसंगति र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै आन्दोलनका सहिद र घाइतेहरूको नाममा पैसा उठाएर दुरूपयोग गरेको आरोप असत्य भएको दाबी गरे।

गुरूङले भने, “आन्दोलनको समयदेखि अहिलेसम्म हामीले कसैसँग एक पैसा सहयोग लिएका छैनौं। यो राजनीतिक पार्टीका साइबर सेनाले फैलाएको अफवाह मात्र हो।”

अफवाहको अन्त्य गर्न उनले ‘हामी नेपाल’ ले छुट्टै वेबसाइट बनाउने र त्यसमा सहिद तथा घाइतेहरूको सूची राख्ने जानकारी दिए। इच्छुक दाताहरूले सोही सूचीका आधारमा सम्बन्धित परिवारलाई सिधै सहयोग गर्न सक्ने व्यवस्था मिलाइने उनले बताए। यसका लागि आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई विवरण उपलब्ध गराउन उनले आग्रह गरेका छन्।

त्यस्तै, देशभरका जनताको माग सम्बोधन गर्न ‘हामी नेपाल’ ले एकीकृत एजेन्डा तयार पारिरहेको पनि उनले जानकारी दिए। उनले भने, “यो आन्दोलन जेन–जीहरूले सुरू गरे पनि भोलिपल्ट सम्पूर्ण नेपाली होमिएका थिए। त्यसैले एजेन्डा बनाउँदा दुर्गम गाउँको समस्या समेत सम्बोधन हुने खालको बनाउनुपर्छ।”

उनका अनुसार एजेन्डा तयार पार्न विभिन्न क्षेत्रका ५० भन्दा बढी विज्ञहरूको टिम खटाइएको छ। एजेन्डा सार्वजनिक भएपछि सबैसँग सुझाव आह्वान गरिनेछ।

राजनीतिक दलमा आबद्धहरूसमेतलाई सुझाव दिन आग्रह गर्दै गुरूङले भने, “पार्टीभन्दा माथि देश हो। यसैले यो एजेन्डामा सबैले सहयोग गर्नु आवश्यक छ।”

हालै उनले एक अन्तर्वार्तामा जेन–जी पुस्ताले नयाँ पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिने तयारीसमेत रहेको बताएका थिए।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ११ : ०५ बजे