२२ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

नेतृत्व नछाड्ने ओलीको अडान : “जबसम्म सक्छु, म अध्यक्ष रहन्छु”



जेन–जी आन्दोलनपछि एक हप्ता सैनिक सुरक्षा घेराभित्र रहेर बाहिरिएका नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि पद छोड्न दबाब बढ्दो छ । तर, उनले आफू सक्षम र जिम्मेवार रहेको दाबी गर्दै अहिले पार्टी अध्यक्ष नछोड्ने स्पष्ट संकेत दिएका छन् । ओलीले पछिल्ला केही दिनयता प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जसँग भर्चुअल संवाद गर्दै आएका छन् ।

गण्डकीका नेताहरूसँगको संवादमा ओलीले स्पष्ट अडान राख्दै भनेका छन्, “सक्रियताले दिन्नँ, इमान्दारीले दिन्नँ, कुनै हिसाबले पनि दिन्नँ । जबसम्म म सक्छु, त्यतिन्जेल अध्यक्ष रहन्छु । जुनदिन सक्तिनँ, त्यसदिन छोडिदिन्छु ।”

पार्टीभित्र ‘नचाहिँदो हल्ला मच्चाइएको’ भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् । गण्डकी र कर्णालीका नेताहरूसँगको भर्चुअल संवादमा ओलीले पार्टीको वर्तमान अवस्था, आगामी कार्यक्रम र आफ्नो भूमिकाबारे खुलेर धारणा राखेका थिए ।

पार्टीभित्र भने असोज २४ गते बस्ने सचिवालय बैठक र त्यसपछिका केन्द्रीय कमिटी बैठकहरू (असोज २७–२९) लाई निर्णायक मानिएको छ । सचिवालयका केही पदाधिकारीले ओलीको राजीनामालाई प्रमुख एजेन्डा बनाउने तयारी गरिरहेका छन् ।

ओलीले असोज २० गते कोसी प्रदेशका १४ वटै जिल्ला अध्यक्षसँग संवाद गरेका थिए । स्रोतका अनुसार सबै अध्यक्षले आफ्ना धारणा राख्ने अवसर पाएका थिए । तीमध्ये धेरैले पार्टीले अब महाधिवेशनको तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।

कोसी प्रदेशका नेतासँग ओलीले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने धारणा राखेका थिए भने कर्णाली र गण्डकीका नेतासँग आफूले नेतृत्व नछोड्ने अडान दोहोर्‍याएका थिए ।

यसअघि बागमती, मधेस र कोसी प्रदेशका नेताहरूसँगको संवादमा पनि उनले पद छाड्ने कुरा गरेका थिएनन् । बागमतीका एक सहभागी नेताले भने, “अध्यक्षले घटनाक्रमबारे ब्रिफिङ गर्नुभयो, परिस्थिति अनुसार पार्टीले निर्णय गर्ने बताउनुभयो । उहाँले कुनै राजीनामाको संकेत दिनुभएन।”

जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले सत्ता छोडेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । कार्कीले जेन–जीको पहिलो सर्तअनुसार प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि एमाले असन्तुष्ट बनेको छ र अदालतमा जाने तयारीमा रहेको छ ।

ओलीले जिल्ला र प्रदेशका नेताहरूसँगको संवादमा यही विषयमा जानकारी दिँदै पार्टी एकताबद्ध रहनुपर्ने संदेश दिएका छन् । बुधबार मात्रै उनले लुम्बिनी र सुदूरपश्चिमका नेताहरूसँग संवाद टुंग्याएका छन् । पार्टीभित्र असन्तोष बढ्दो भए पनि ओलीले स्पष्ट सन्देश दिएका छन्, “जबसम्म म सक्षम छु, नेतृत्व म नै गर्छु।”

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ३७ बजे