राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै दलहरूलाई फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित आह्वान गरेको सर्वदलीय बैठकमा उक्त आग्रह गरेका हुन् ।
राष्ट्रपतिको जोड: निर्वाचनमा केन्द्रित होऊ
राष्ट्रपति पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्याउँछ भन्नेबारे सोच्न आग्रह गरे ।
उनले सरकारलाई शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् । राष्ट्रपतिले दलहरूलाई ‘जेनजी’ को माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जान तथा दलहरूको सुरक्षा चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
दल र सरकारबीच संवादहीनता तोडियो
सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने विषयमा संसय पैदा भएको बताए । उनीहरूले यो शंका हटाएर भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास सरकारले दिलाउनुपर्नेमा जोड दिए ।
बैठकमा अधिकांश दलका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रपति कहाँ किन बैठक गर्नुपर्ने अवस्था आयो भन्दै जवाफ मागेका थिए । सरकार बनेको एक महिनासम्म दलहरूसँग कुनै संवाद नगरी चुनावी कार्यक्रम बाहिर आएपछि उनीहरूले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री कार्कीले आफूहरूकै आग्रहमा राष्ट्रपतिले बैठक राखेको बताइन् । उनले सरकारले सिधै संवाद गर्दा आन्दोलनकारी शक्तिहरू चिढिने जोखिम रहेकाले पहिलो बैठक राष्ट्रपतिको समन्वयमा गराइएको र अब सिंहदरबारमा सिधा छलफल हुने जानकारी दिइन् । यस छलफलले दलहरू र सरकारबीचको संवादहीनता तोडेको छ ।
प्रधानमन्त्रीको आश्वासन
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाइन् ।
उनले जेनजीहरू हामी सबैका छोरा नाती भएकाले उनीहरूले किन असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरिन् ।
राष्ट्रपतिले जेनजी प्रतिनिधिहरूसँग पनि छलफल गर्दै
राष्ट्रपति पौडेलले शुक्रबार दलहरूसँग छलफल गरेपछि अब शनिबार बिहान ९ बजे जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि शीतल निवासमा बोलाएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार यो छलफलमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी हुनेछिन् ।
राप्रपाका ८ बुँदे माग
बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बलियो नेतृत्व र स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने लगायत आठ बुँदे विषय प्रस्तुत गरेको छ।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रिय एकताका लागि राजसंस्थाको आवश्यकता रहेको विचार राख्दै संवैधानिक निकायहरूको निष्पक्षता, भ्रष्टाचार नियन्त्रणका लागि सशक्त कानुन र प्रतिनिधि सभाको उम्मेदवार बन्न न्यूनतम उमेर २५ वर्षबाट घटाएर १८ वर्ष कायम गर्नुपर्ने माग पनि राखेका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायत प्रमुख दलका नेताहरूको सहभागिता रहेको थियो ।









