सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार थुनछेक बहसपछि महरालाई थुनामा पठाउने आदेश गरेको हो । यो आदेशसँगै महरा थुनामै रहेर मुद्दाको किनारा नलागेसम्म बस्ने भएका छन् ।
जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले दिएको जानकारीअनुसार जिल्ला न्यायाधीश क्षेत्रीको इजलासले यो आदेश गरेको हो । महरालाई विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत आइतबार (असोज २६ गते) ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो ।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा सोमबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो। मंगलबार बयान सकिएपछि बुधबार थुनछेक बहस भएको थियो ।
स्मरण रहोस्, ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो । सोही प्रकरणमा महराका छोरा राहुल महरासहित अन्य प्रतिवादीविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको थियो। महरा यसअघि गत चैत ५ गते छुटेका थिए भने पुरक अनुसन्धानका लागि पुनः पक्राउ गरिएको थियो ।