९ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025

गाजामा मारिएका विपिन जोशीको शव नेपाल ल्याइयो, मृत्युबारे अझै स्पष्टता छैन



प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइएको छ । तर उनको मृत्यु कहिले, कहाँ र कुन अवस्थामा भएको हो भन्ने स्वतन्त्र पुष्टि अझै हुन सकेको छैन ।

शवलाई नेपाली सेनाले अन्तिम संस्कारका लागि सोमबारै महेन्द्रनगरतर्फ लगेको र मंगलबार अन्तिम संस्कार गर्ने तयारी भएको परिवारले जनाएको छ ।

विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले गाजापट्टीसँग सीमा जोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । एक महिनापछि इजरायली सेनाले हमासको नियन्त्रणमा रहेका विपिनको जीवित भिडियो सार्वजनिक गरेको थियो ।

अमेरिकाको मध्यस्थतामा अघि बढाइएको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअन्तर्गत इजरायल र हमासबीच बन्धक तथा प्यालेस्टिनी कैदीको अदला–बदली गर्ने सहमति भएको थियो । सोही प्रक्रियामा २७ असोजमा हमासले विपिन मारिएको भन्दै शव इजरायललाई हस्तान्तरण गरेको थियो । त्यसपछि तेल अविवस्थित ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ ले डीएनए परीक्षण गरी शव विपिनकै भएको पुष्टि गरेको थियो ।

उक्त केन्द्रका चिकित्सक डा. विनात स्वार्ज मिल्नरले हस्ताक्षर गरेको फरेन्सिक रिपोर्टमा विपिनको टाउकामा लागेको गोलीका कारण मृत्यु भएको उल्लेख छ । तर उनको मृत्यु कुन परिस्थितिमा भयो भन्ने स्पष्ट प्रमाण प्राप्त छैन । इजरायल र हमासले एकअर्कालाई आरोप लगाएका छन् । हमासले इजरायली हवाई आक्रमणका क्रममा विपिन मारिएको दाबी गरेको छ भने इजरायलले हमासले हत्या गरेको आरोप लगाएको छ ।

हमासले २५१ जना बन्धक बनाएर लगेकोमध्ये इजरायलले अहिलेसम्म ३३ जनाको शव फेला पारेको छ । विपिनको शव नेपालमा ल्याइसकेपछि पुनः फरेन्सिक परीक्षण गर्ने विषय कानुनी, कूटनीतिक र वैज्ञानिक दृष्टिले महत्त्वपूर्ण भएको विज्ञहरूले बताएका छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारीका अनुसार कुनै देश वा परिवारलाई फरेन्सिक रिपोर्टमाथि चित्त नबुझे पुनः परीक्षण गर्न सकिने अभ्यास रहँदै आएको छ । “यो नितान्त परिवारको मागमा निर्भर हुन्छ,” उनले भने, “इजरायलले फरेन्सिक रिपोर्ट दिएको छ, त्यसैको आधारमा क्षतिपूर्ति दिने कुरा अघि बढ्ने सम्भावना छ ।”

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख गोपाल चौधरीका अनुसार चाहना भए नेपालमै पुनः परीक्षण सम्भव छ । “पहिलो परीक्षण इजरायलमै भएकाले दोस्रो परीक्षणमा त्यहाँका निष्कर्षलाई पुनः पुष्टि गर्ने काम हुनेछ,” उनले भने ।

तर गृह मन्त्रालयका एक अधिकारीका अनुसार परिवारबाट फरेन्सिक परीक्षणको औपचारिक माग आएको छैन । “परिवारले इजरायलको प्रतिवेदनलाई नै स्वीकार गरेको देखिन्छ,” उनले भने ।

शव नेपाल ल्याइएपछि प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, सोमबार  ८ : २९ बजे