९ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025

भाइटीकासँगै तिहार सम्पन्न, दिदीबहिनीले दाजुभाइलाईलगाइन् श्रद्धा र ममताको टीका



नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज देशभर दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै श्रद्धा, आस्था र निष्ठाका साथ भाइटीका लगाएका छन्।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका, जसलाई यमपञ्चकको अन्तिम दिन पनि भनिन्छ, बिहीबार धार्मिक विधिअनुसार मनाइएको हो। आजको दिन दिदीबहिनीहरूले दाजुभाइलाई पञ्चरंगी वा सप्तरंगी टीका लगाएर भाइटीका पर्व मनाएसँगै पाँचदिने तिहार पर्व औपचारिक रूपमा सम्पन्न भएको छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार भाइटीकाको टीकाको शास्त्रीय मान्यता पाँच रंगको — रातो, सेतो, पहेंलो, हरियो र निलो — रहेको बताइन्छ। उनले टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै ओखर, कटुस, मरमसला, सेलरोटी लगायतका परिकार दिने र दाजुभाइले पनि गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा रहेको बताए।

यसवर्ष भाइटीकाको साइत मध्याह्न ११:३९ बजे उत्तम मानिएको थियो। समितिले यही साइतमा टीका लगाउने शुभसाइत सार्वजनिक गरे पनि दिनभर भाइटीका लगाउन कुनै बाधा नभएको जनाइएको थियो।

आज दिदीबहिनीहरूले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा अष्ट चिरञ्जीवी — मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम — सहित चित्रगुप्त, यमराज, यमुना र धर्मराज आदिको आराधना गरी भाइटीका सम्पन्न गरे। दिदीबहिनीहरूले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीका फूलका माला लगाइदिए।

दिदीबहिनी नहुनेका लागि राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज एक दिनका लागि मात्र खुलाइएको थियो। वर्षमा एकपटक खुल्ने उक्त मन्दिरमा दिदीबहिनी नभएका दाजुभाइहरू टीका लगाउन पुग्ने प्रचलन रहिआएको छ। त्यसैगरी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज बिहानैदेखि टीका लगाउन भक्तजनहरूको घुइँचो लागेको थियो।

भाइटीकासँगै पाँचदिने तिहार पर्व — काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीका — सम्पन्न भएको छ। देशभर दिदीबहिनी र दाजुभाइबीचको स्नेह, श्रद्धा र एकताको प्रतीकका रूपमा भाइटीका उल्लासपूर्वक मनाइएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, बिहिबार  १० : २७ बजे