९ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025

सिरहा घटनामा गृहमन्त्रीको चासो, निष्पक्ष छानबिनको निर्देशन



सिरहाको मिर्चैयामा एक विपन्न परिवारमाथि भएको आक्रमण प्रकरणलाई राजनीतिक दबाबमा सामसुम पार्ने प्रयास भइरहेको आरोपबीच गृहमन्त्री ओमप्रकाश अर्यालले गम्भीर चासो व्यक्त गरेका छन्।

गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष र निःपक्षपाती छानबिन गर्न निर्देशन दिएका छन्। उनले मिर्चैया नगरपालिका–३ छड्की टोलमा चार जना घाइते हुने गरी भएको आक्रमणबारे जानकारी लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाउन पनि प्रहरीलाई आदेश दिएका हुन्।

स्रोतका अनुसार गृहमन्त्री अर्यालले आईजीपी खापुङलाई टेलिफोनमार्फत सम्पर्क गरी घटनाबारे विस्तृत जानकारी लिन र दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएका छन्। “घटनाबारे बुझ्नुहोस् र प्रहरीले कानूनी प्रक्रिया अनुसार आवश्यक काम अघि बढाओस्,” मन्त्री अर्यालको भनाइ उद्धृत गर्दै गृह मन्त्रालय स्रोतले जनाएको छ।

घटनापछि पाँच जना आक्रमणकारी पक्राउ परेका थिए, तर पीडित पक्षले राजनीतिक दबाबका कारण तीन जनालाई प्रहरीले छाडेको आरोप लगाएको छ। साथै, जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले तत्काल घटनाको तथ्य बुझ्न र उचित कार्यवाही गर्न निर्देशन दिएका हुन्।

मिर्चैया नगरपालिका–३ छड्की टोलमा भएको उक्त आक्रमणमा एक विपन्न परिवारका चार सदस्य घाइते भएका थिए। स्थानीयवासीले दोषीमाथि कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै प्रशासनिक निष्पक्षताको सुनिश्चितता गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८२, बिहिबार  १० : ३० बजे