९ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025

राष्ट्रपति ट्रम्पको बलरुम निर्माणका दाताहरु



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्माण गर्न लागेका ९० हजार वर्गफुट क्षेत्रफलको भव्य बलरुम निर्माणका लागि एप्पल, अमेजन, माइक्रोसफ्ट, गुगल, मेटा, लकहिड मार्टिन, कोइनबेस र कोमकास्टलगायतका ठूला कम्पनीहरूले सहयोग गरेका छन्। ह्वाइट हाउसका अनुसार उक्त परियोजनामा प्रमुख अमेरिकी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आर्थिक सहयोग गरेका छन्।

ट्रम्पले बारम्बार उक्त बलरुम परियोजना निजी लगानीमा निर्माण भइरहेको र करदाताको एक डलर पनि खर्च नहुने बताएका छन्। बुधबार उनले बलरुम निर्माणको लागत “झण्डै ३० करोड डलर (३ सय मिलियन अमेरिकी डलर)” पर्ने बताएका थिए। यसअघि प्रशासनले उक्त परियोजनाको लागत २० करोड डलर (२ सय मिलियन अमेरिकी डलर) हुने अनुमान गरेको थियो।

ट्रम्पको योजनाअनुसार बलरुम निजी दाताहरू र उनी स्वयंको लगानीमा निर्माण हुनेछ। दाताहरूमा क्रिप्टोकरन्सी एक्सचेञ्ज “जेमिनी” का सह-संस्थापक टायलर र क्यामेरुन विन्कलभोस, वाणिज्य सचिव हावर्ड लुटनिक र उनको परिवार, साथै एडेलसन परिवार पनि छन्। रिपब्लिकन पार्टीका प्रमुख दातामध्ये परेका एडेलसन परिवारका मिरियम एडेलसनलाई ट्रम्पले सन् २०१८ मा “प्रेसिडेन्सियल मेडल अफ फ्रीडम” प्रदान गरेका थिए।

ह्वाइट हाउसले सार्वजनिक गरेको दाताहरूको सूचिमा एप्पल, अमेजन, गुगल, मेटा, माइक्रोसफ्ट, लकहिड मार्टिन, कोइनबेस, पालान्टिर टेक्नोलोजिज, एचपी, हार्ड रक इन्टरनेशनल, क्याटरपिलर, अल्ट्रिया ग्रुप, टी-मोबाइल, र युनियन प्यासिफिक रेलरोड जस्ता कम्पनीहरू पनि छन्।

त्यसैगरी, एडेलसन फ्यामिली फाउन्डेशन, लुटनिक परिवार, पर्लमटर फाउन्डेशन, चार्ल्स र मरिसा कास्कारिला, एडवर्ड र शारी ग्लेजर, स्टीफन ए. श्वार्जम्यान, केली लोफलर र जेफ स्प्रेचर, पाओलो टिरामानी, बेन्जामिन लियोन जूनियर, कोन्स्टान्टिन सोकोलोभ लगायतका व्यक्तिगत दाताहरू पनि उक्त सूचीमा समावेश छन्।

ट्रम्प प्रशासनका अनुसार उक्त बलरुम व्हाइट हाउस परिसरमा विशेष समारोह, राज्य भ्रमण, तथा राष्ट्रिय कार्यक्रमहरूका लागि प्रयोग गरिनेछ। परियोजनाको काम नजिकै सुरु हुने जनाइएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, बिहिबार  १० : ३५ बजे