९ कार्तिक २०८२, शनिबार | Sun Oct 26 2025

मिथिलाञ्चलमा छठ पर्व सुरु, सुरक्षा ब्यवस्था कडा पारियो



जनकपुरधाम । मिथिलाञ्चलको महान् चाड छठ पर्वअन्तर्गत शनिबार पवित्र नहाय–खाय विधि सम्पन्न गरिएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधामका विभिन्न पोखरी, नदी र घाटमा व्रतालु महिलाहरूले सूर्यदेवको आराधना गर्दै स्नान गरी शुद्ध पकवान ग्रहण गर्दै विधिपूर्वक नहाय–खाय सम्पन्न गरेका हुन्।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी गीतादेवी साहका अनुसार, नहाय–खाय विधिमा व्रतालुहरूले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भएर अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

नहाय–खाय सम्पन्न गरेपछि व्रतालुहरूले सूर्यदेवको उपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्छन्। छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन उस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।

स्थानीय पुनम झाका अनुसार छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। पोखरी, घाट र आसपासको क्षेत्रमा सरसफाइ, सजावट र प्रकाश व्यवस्थाका काम तीव्र गतिमा भइरहेको उनले बताइन्। स्थानीय बजारमा छठका लागि केरा, नरिवल, नैवेद्यलगायत पूजा सामग्री खरिद गर्न भक्तजनहरूको भीड बाक्लो बनेको छ।

छठ पर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोकथामका लागि मकवानपुरको हेटौँडा नगरक्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, छठ घाटहरूमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने छ।

उनका अनुसार, व्रतालुहरू पूजा गर्न नदीतटमा जाने क्रममा चोरी, डकैती वा लुटपाट हुन नदिन मोबाइल गस्ती, स्ट्राइकिङ टोली र विशेष सुरक्षा बल परिचालन गरिने तयारी गरिएको छ। साथै, कुनै पनि आकस्मिक घटनामा तत्काल प्रतिक्रिया जनाउनका लागि क्विक रेस्पोन्स टिम (QRT) पनि तयार अवस्थामा रहने प्रहरीले जनाएको छ।

चार दिवसीय छठ पर्व आइतबारको खरनासँगै दोस्रो चरणमा प्रवेश गर्नेछ। राससबाट

प्रकाशित मिति : ९ कार्तिक २०८२, शनिबार  १० : ३६ बजे