अमेरिकी इतिहासकै सबैभन्दा लामो संघीय सरकार बन्दले देशभर गहिरो असर पार्दै गएको छ । करोडौं अमेरिकी नागरिक अनिश्चिततामा परेका छन् भने आर्थिक मन्दीको आशंका बढ्दै गएको छ ।
सीएनएनका अनुसार शुक्रबार मात्रै एक हजारभन्दा बढी उडान रद्द भएका र हजारौं ढिलो भएका कारण यात्रुहरू त्रस्त बनेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बर महिनाका लागि पूर्ण खाद्य सहायता (फुड स्ट्याम्प) वितरण गर्न अस्वीकार गरेपछि सहायता लिने लाखौं नागरिक झन् संकटमा परेका छन् ।
सप्ताहौंदेखि तलब नपाएका संघीय कर्मचारीहरू बिल तिर्न नसक्ने अवस्थामा पुगेका छन् । प्रतिनिधिसभा र सिनेटबीच सहमति हुन नसकेपछि सरकार पुनः सञ्चालन हुने कुनै संकेत देखिएको छैन । रिपब्लिकनहरूलाई सिनेटमा विधेयक पारित गर्न आवश्यक ६० मत पुगेको छैन भने डेमोक्र्याटहरू स्वास्थ्य बीमा सहयोगको निरन्तरताको मागमा अडिएका छन् ।
सिनेटका बहुमत नेता जोन थुनले डेमोक्र्याटसँगको वार्ता ‘असफल’ भएको बताएका छन् । डेमोक्र्याट नेता चक शुमरले भने ‘अफोर्डेबल केयर एक्ट’का अनुदान एक वर्षका लागि थप्ने सर्तमा मात्र सहमति हुने बताएका छन् ।
राष्ट्रिय आर्थिक परिषदका निर्देशक केभिन ह्यासेटले सरकार बन्दको असर प्रारम्भिक अनुमानभन्दा “कयौं गुणा खराब” भएको बताउँदै चेतावनी दिएका छन् । “यो अझै एक महिना लामो भए अर्थतन्त्रमा ठूलो क्षति हुन सक्छ,” उनले भने ।
हवाई यातायात अस्तव्यस्त
संघीय विमान प्रशासनले शुक्रबारदेखि आन्तरिक उडानमा ४ प्रतिशत कटौती गरेको छ । यसले ४० प्रमुख विमानस्थलमा एक हजारभन्दा बढी उडान रद्द र सयौं ढिलो हुन पुगेका छन् । वाशिङ्टन, अटलान्टा, सान फ्रान्सिस्को र न्युर्कलगायतका विमानस्थलहरूमा नियन्त्रण टावरमा जनशक्ति अभावले ठूलो भीड देखिएको छ ।
न्यूयोर्कस्थित ल गर्डिय विमानस्थलमा यात्रुहरू लामो लाइनमा अल्झिएका थिए । दक्षिण फ्लोरिडामा बिहे गर्ने तयारीमा रहेकी एलिसिया लेभाले आफ्ना आधा पाहुना उडान रद्द भएपछि चिन्ता व्यक्त गरिन् । अर्का यात्रु जे कर्लेले भने, “यो केवल यात्रुहरूको समस्या होइन, पूरै अर्थतन्त्र प्रभावित छ, र त्यसको जिम्मा नेताहरूले लिनुपर्छ ।”
खाद्य सहायता संकट
र्होड आइल्याण्डका संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई ४ करोडभन्दा बढी अमेरिकीलाई पूर्ण फुड स्ट्याम्प भुक्तानी गर्न आदेश दिएका थिए । “यो निर्णय ढिला भएपछि मानिसहरू भोकै बस्नुपर्ने, खाद्य बैंकहरू ओभरलोड हुने र अनावश्यक पीडा व्याप्त हुने सम्भावना छ,” उनले भने ।
तर शुक्रबार अमेरिकाको सर्वोच्च अदालतले उक्त आदेश अस्थायी रूपमा रोकिदिँदा लाभ लिने नागरिक पुनः अनिश्चिततामा परेका छन् । वासिंग्टनका ३५ वर्षीय जाकेरी मार्टिनले भनेका छन्, “म भोलि बेलुकासम्म खान पाउँला कि नपाउँला भन्ने पक्का छैन ।”
पश्चिम भर्जिनियाकी पाँच सन्तानकी गर्भवती आमा लरा बोवेल्सले फुडस्ट्याम्प भुक्तानी नआएपछि परिवार धान्न अत्यन्त कठिन भएको बताइन् । “बच्चाहरूलाई खान पुर्याउन गाह्रो छ, यो अवस्थाले जीवनलाई झन् कठिन बनायो,” उनले भनिन् ।
कार्यक्रममार्फत २०२३ मा मात्रै २६२ हजार खुद्रा पसलहरूले १२४ अर्ब डलर बराबरको बिक्री गरेका थिए । साना किराना पसलहरूका लागि यो प्रमुख आम्दानीको स्रोत हो ।
तलबबिनै काममा संघीय कर्मचारी
सरकार बन्द हुँदा पनि धेरै संघीय कर्मचारीहरूले काम गरिरहेका छन्, तर तलब पाएका छैनन् । टेक्सासकी नर्स लिसा मोरालेसले तीन महिनाको घरभाडा तिरे पनि अब गाडी र बीमा भुक्तानी गर्न नसक्ने बताइन् । “हामी बेरोजगारी भत्ताका हकदार छैनौं, किनकि हामी काममा हाजिर भइरहेका छौं,” उनले भनिन् ।
भर्जिनियाको एक रोजगार मेलामा उपस्थित सरकारी कर्मचारीहरूले पनि परिवार चलाउन कठिन भएको बताए । एक कर्मचारीले भने, “म तलब पाएको छैन, परिवारलाई पाल्न विकल्प खोज्दैछु ।” अर्की कर्मचारीले भने, “सयौं संघीय कर्मचारीहरू जस्तै म पनि कारको किस्ता र दैनिक खर्चका लागि जगेडा फिर्ता निकाल्ने सोचमा छु ।”
संघीय सरकार पुनः सञ्चालन हुने कुनै निश्चित समय नदेखिँदा अमेरिकी नागरिकहरू दैनिक जीवनका हरेक क्षेत्रमा यस बन्दको मारमा परेका छन् ।








