भारतको राजधानी नयाँ दिल्लीमा सोमबार भएको कार विस्फोटमा १२ जनाको मृत्यु भएको भोलिपल्ट मंगलबार पाकिस्तानको राजधानी इस्लामाबादमा आत्मघाती बम विस्फोट भएको छ । यस घटनामा पनि १२ जनाको मृत्यु भएका छन् भने कम्तीमा २७ जना घाइते छन् ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नकभीले बताएअनुसार आक्रमणकारीले जिल्ला अदालत परिसरभित्र प्रवेश गर्ने प्रयास गरेको थियो, तर सफल नभएपछि नजिकैको प्रहरी कार छेउमै विस्फोट गराएको थियो ।
घटनाको समय स्थानीय अनुसार १२:३९ बजे विष्फोट भएको बताइएको छ । विस्फोटपछि अदालत परिसर वरिपरि धुवाँको मुस्लो उठेको र प्रहरीले सम्पूर्ण क्षेत्र सिल गरेको दृश्य भिडियो फुटेजमा देखिएको छ ।
गृहमन्त्री नकभीले घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्याइएको र आक्रमणकारीको परिचय पत्ता लगाउने काम प्राथमिकतामा राखिएको बताएका छन् । उनले भने, “यो आक्रमणमा संलग्न जो कोही पनि कानूनी कारबाहीबाट बच्न सक्दैन ।”
विस्फोटको समयमा अदालत नजिकै कार पार्क गरिरहेका रुस्तम मलिक नामक एक वकिलले एएफपी समाचार एजेन्सीलाई भनेका छन्, “अचानक ठूलो विस्फोटको आवाज आयो । चारैतिर अन्धकार र धुवाँमात्र देखिन्थ्यो। मानिसहरू डरले अदालतभित्र दौडिरहेका थिए। मैले गेटमा दुई शव र आगो लागेको केही कारहरू देखेँ।”
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले आत्मघाती बम विस्फोटको तीव्र निन्दा गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले “यो आक्रमणमा भारतले सहयोग गरेका चरमपन्थी समूहको संलग्नता रहेको” दाबी गरेका छन् । उनका अनुसार, “भारतका आतंकवादी प्रतिनिधिहरूद्वारा पाकिस्तानका निहत्था नागरिकमाथि भएका यस्ता आक्रमणहरू निन्दनीय छन् ।” तर, भारतले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । भारतले विगतमा पनि पाकिस्तानका यस्ता आरोपहरू अस्वीकार गर्दै आएको छ ।
यसअघि सोमबार दिल्लीको एक व्यस्त सडकमा भएको कार विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने दर्जनौँ घाइते छन् । भारतीय सरकारले यसलाई औपचारिक रूपमा आतंकवादी आक्रमण भनेको छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले विस्फोटपछि भनेका थिए, “यो घृणित कार्यमा संलग्न जो कोही पनि सजायबाट बच्ने छैनन् । षड्यन्त्र कति गहिरो भए पनि दोषीहरूलाई कानूनी दायरामा ल्याइनेछ ।”
पछिल्ला तीन वर्षयता इस्लामाबादमा यस्तो आत्मघाती आक्रमण पहिलोपटक भएको हो । सुरक्षा विश्लेषकहरूले भारत र पाकिस्तानमा दुई दिनभित्रै भएका लगातार विस्फोटका घटनालाई क्षेत्रीय सुरक्षाका लागि चिन्ताजनक संकेतका रूपमा लिएका छन् ।









