१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

नेपाली कांग्रेसले पुस २६–२८ मा १५औँ महाधिवेशन गर्ने, गगन थापाको अतिरिक्त प्रस्ताव



नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले लामो विवाद र रस्साकस्सीपछि आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय पक्का गरेको छ । डेढ महिनादेखि जारी बैठक सोमबार सानेपामा बसेको थियो । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।

बैठकले नयाँ क्रियाशील सदस्यता वितरणदेखि स्थानीय तह, प्रदेश र केन्द्रसम्मको पूरा अधिवेशन कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ । मंसिर २० भित्र केन्द्रबाट नयाँ क्रियाशील सदस्यता फाराम वितरण, मंसिर २४ भित्र वडासम्म पठाउने, पुस ८ सम्म जिल्लाहरूमा सदस्यता नवीकरण प्रक्रिया सम्पन्न गर्ने, र पुस १४ भित्र प्रमाणित अन्तिम सदस्यता नामावली निर्वाचन समितिमा बुझाउने व्यवस्था कार्यतालिकामा समेटिएको छ । वडादेखि प्रदेशसम्मका अधिवेशन पुस १६ देखि २४ सम्म तोकिएका छन् ।

खड्काले तालिका राखेपछि महामन्त्री गगन थापाले अतिरिक्त प्रस्तावसहित केही प्रश्न उठाएका थिए । तर खड्काले “तपाईंले बोलेपछि फेरि बहस दोहोरिन्छ” भनेपछि थापाले आफ्नो प्रस्ताव लिखित रूपमा पेश गरेको बताइएको छ ।

महामन्त्री थापाको अतिरिक्त प्रस्ताव केन्द्रीय समितिमा दर्ता भएको छ । प्रस्तावमा उनले कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, “यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न इमानदारीपूर्वक काम गर्नेछु । यही होस् भन्ने कामना गर्दछु ।”

यद्यपि थापाले सम्भावित अवरोधको संकेत पनि गरेका छन् । उनका अनुसार, यदि कुनै कारणले पुसभित्रै १५औँ महाधिवेशन सम्पन्न नहुने अवस्था आयो भने पुस अन्त्यसम्म कुर्नुभन्दा ढिला नगरी विशेष महाधिवेशनतर्फ जानुपर्नेछ । “आम निर्वाचनभन्दा अगाडि अधिवेशन सकिनैपर्ने भएकाले अर्को विकल्प पार्टीकहाँ रहने छैन,” उनले प्रस्तावमा उल्लेख गरेका छन् ।

जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको थियो । थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग उठाउँदै आएका थिए। महाधिवेशन प्रतिनिधिहरूले समेत विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

संस्थापन पक्ष हस्ताक्षर फिर्ता गराएर मात्र कार्यतालिका ल्याउने अडानमा थियो । तर थापा–शर्मा पक्षको कडा अडानका कारण संस्थापन समूह अन्ततः कार्यतालिका ल्याउन बाध्य भएको नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, सोमबार  १० : १२ बजे