३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

“राइट म्यान इन राइट प्लेस” महत्वपूर्ण रहेको कुलमानको भनाई



नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक तथा वर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङले सुशासन, इमानदार नेतृत्व र “राइट म्यान इन राइट प्लेस” को सिद्धान्तले नै मुलुक समृद्धितर्फ अघि बढ्न सक्ने टिप्पणी गरेका छन् ।

‘उज्यालो नेपाल पार्टी’को घोषणा सभामा सम्बोधन गर्दै उनले नेपालमा ७५ वर्षभरिको राजनीतिक परिवर्तनपछि पनि विकास अपेक्षित रूपमा अघि नबढ्नुको कारण नेतृत्व चयनमा आएको कमजोरी रहेको बताए । राजनीतिक परिवर्तनमा सफल देखिएका नेताहरू आर्थिक रूपान्तरणमा असफल हुँदै गएको उनको भनाइ थियो ।

घिसिङले भ्रष्टाचार, असुशासन र नेताहरूको बिग्रिएको आचरणले जनतामा विश्वास ह्रास भइरहेकाले नेतृत्व कमजोर भएको स्पष्ट पारे । विद्युत प्राधिकरण र रसुवागढी जलविद्युत् परियोजनामा संकटका घडीमा जनताको विश्वास र समर्थनकै कारण आफू सफल भएको उल्लेख गर्दै उनले परिणाम, इमानदारी र सुशासनकै आधारमा मात्र नेतृत्व स्थिर र प्रभावकारी बन्ने बताए ।

हालैको जेनजी आन्दोलनले छोटो समयमै ठूलो प्रभाव पर्नुको कारण देशभर सञ्चित असन्तुष्टि र आक्रोशको विस्फोट भएको भन्दै उनले आन्दोलनले सरकारलाई हल्लाएको मात्र नभई वैकल्पिक नेतृत्व उदाउने नयाँ अवसर पनि सिर्जना गरेको बताए । आगामी फागुन २१ गते हुने निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक मोड सावित हुने उनको धारणा थियो ।

ऊर्जा मन्त्री घिसिङले परिवर्तनका लागि वैकल्पिक नेतृत्व, नयाँ सोच र युवा पुस्तालाई अवसर दिनुपर्ने आवश्यकतामा जोड दिए । आलोचना मात्र गरिरहने होइन, योग्य र सक्षम व्यक्तिहरू सक्रिय रूपमा राजनीतिमा उत्रिनुपर्ने उनले दोहोर्याए । सुशासन, भ्रष्टाचारमुक्त व्यवस्था र जनमुखी नेतृत्व नै आर्थिक रूपान्तरणको मुख्य आधार रहेकोमा उनले सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरे ।

सभामा ठूलो जनसहभागिता देखिएको उल्लेख गर्दै उनले यसले देश परिवर्तनप्रतिको आशा अझ बलियो भएको बताए । कुनै एक पार्टीको नभई राष्ट्रिय रूपमा सम्मानपूर्वक आमन्त्रण प्राप्त भएपछि आफू जहाँ पनि प्रमुख अतिथि बन्न जान तयार रहने स्पष्ट पार्दै उनले ‘उज्यालो नेपाल पार्टी’को आमन्त्रण स्वीकृत गरेको जानकारी दिए ।

घिसिङले ३० वर्षदेखि ऊर्जा क्षेत्रमा सहयात्री रहेका तथा वर्तमान ‘उज्यालो नेपाल पार्टी’का अध्यक्ष अनिलकुमार उपाध्यायको भूमिकाको विशेष प्रशंसा गर्दै विद्युत प्राधिकरणमा लोडसेडिङ अन्त्य गर्न उपाध्यायको आन्तरिक सहकार्य निर्णायक भएको स्मरण गरे । विगत आठ वर्षदेखि चलाउँदै आएको ‘उज्यालो नेपाल अभियान’ नै अब राजनीतिक संरचनामा परिणत भएको भन्दै प्रवासमा रहेका नेपालीहरूले देखाएको सद्भाव र साथप्रति उनले कृतज्ञता व्यक्त गरे ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार  १० : ५७ बजे