नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत सोमबार सुरु भएको बन्दसत्र छलफल नसकिएपछि स्थगित भएको छ। बन्दसत्र मंगलबार बिहान पुनः सुरु हुने भएको छ ।
सोमबारको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आ–आफ्ना राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले समूहगत छलफल गरेका छन्। छलफल नसकिएकाले मंगलबार पनि बन्दसत्र जारी रहने विशेष महाधिवेशन पक्षधर नेता सुवासकुमार पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार सोमबार कोसी प्रदेशको टोलीले समूहगत प्रतिवेदन बुझाइसकेको छ भने अन्य केही प्रदेशमा छलफल जारी छ। “महामन्त्रीका प्रतिवेदनमाथि छलफल भइरहेको छ, भोलि सकिन्छ,” उनले भने।
महामन्त्रीद्वयका साझा सुधार एजेन्डा
महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेका प्रतिवेदनमा शासकीय सुधार, दलीय सुधार र संवैधानिक निकायको सुधारसम्बन्धी साझा एजेन्डा समेटिएका छन्। तीमध्ये प्रमुख प्रस्तावहरू यस्ता छन्,
– दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री नबनाउने
– समानुपातिक प्रणालीबाट एक व्यक्ति एक पटक मात्र सांसद बन्ने व्यवस्था
– पार्टीभित्र उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन
– चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति
– विश्वविद्यालय, संवैधानिक निकाय र सार्वजनिक संस्थालाई राजनीतिक भागबन्डाबाट मुक्त राख्ने
– राजनीतिक दललाई राज्यकोषबाट फन्डिङ गर्ने व्यवस्था
– अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सबल बनाउने
– सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार र डिजिटाइजेसन
संस्थापन पक्षको एकताको अपिल
विशेष महाधिवेशन पक्षधरहरूले बन्दसत्रमार्फत केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि बढाएपछि संस्थापन पक्षले पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न अपिल गरेको छ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र उत्पन्न असहज अवस्थालाई अन्त्य गर्न सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
निर्वाचन प्रक्रियातर्फ जाने तयारी
विशेष महाधिवेशनमा पुराना समिति भंग गरेर नयाँ समिति गठनको प्रक्रियामा जाने तयारी रहेको पोखरेलले बताए । उनका अनुसार मंगलबार निर्वाचन समिति, अनुशासन समिति, केन्द्रीय समिति लगायतका संरचना भंग गर्ने निर्णय हुनसक्छ ।
“हालको निर्वाचन समिति भंग नगरी नयाँ निर्वाचन प्रक्रिया अघि बढ्दैन,” उनले भने, “हलले आवश्यक निर्णय लिएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुन्छ।”
मंगलबारका लागि भृकुटीमण्डपस्थित हल बुक भइसकेको र निर्वाचन प्रक्रिया थाल्ने कार्यतालिका तय भएको उनले जानकारी दिए ।
७० प्रतिशत हस्ताक्षर पुर्याउने दाबी
विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेका छन्। सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले आइतबारसम्म २ हजार ६ सय ६२ प्रतिनिधिले हस्ताक्षर गरिसकेको र सोमबार मात्र ६.२४ प्रतिशतले संख्या बढेको बताए।
उनका अनुसार हाल ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको छ। “६६ प्रतिशतको चर्चा भइरहेको छ, तर हामी ७० प्रतिशत पुर्याएर देखाइदिन्छौँ,” उनले दाबी गरे। उनले संस्थापन पक्ष विधानले नचिन्ने उल्लेख गर्दै पार्टीका नेताहरूलाई बन्दसत्रमा सहभागी हुन आह्वान गरे।
केन्द्रीय कार्यसमिति बैठक आह्वान
यसैबीच, कार्यवाहक सभापति खड्काले मंगलबार बिहान ११ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्नेछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र सातै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सोमबार छलफल नसकिएकाले मंगलबार बिहानैदेखि बन्दसत्र पुनः सञ्चालन हुने र निर्वाचन प्रक्रियातर्फ जाने तयारी गरिएको छ। ५६ प्रतिशतभन्दा बढी प्रतिनिधिले बन्दसत्र सञ्चालन गर्दै नीति र नेतृत्व दुवै परिवर्तनतर्फ अघि बढेपछि संस्थापन पक्षबाट एकताको अपिल आएको हो।








