निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ । आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गर्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागु गरेको जनाएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ६ माघमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम तोकेको छ। मनोनयनअघि राजनीतिक दलहरू उम्मेदवार छनोटमा व्यस्त देखिएका छन्। आयोगले आचारसंहिता यसअघि नै जारी गरिसकेको भए पनि आज रातिदेखि औपचारिक रूपमा लागु हुने जनाएको छ।
यता, नेपाली कांग्रेसको विवाद मिलाउन ५२ करोड रुपैयाँको लेनदेन भएको आरोप लगाएपछि निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले प्रसाईंमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको हो।
आइतबार आयोगले निर्णय गर्दै साइबर ब्युरोलाई पत्र पठाएको सूचना अधिकारी सुमन अधिकारीले जानकारी दिए। उनका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रसाईंको भिडिओको अनुसन्धान गर्न आयोगले आग्रह गरेको छ।
‘आयोगले निर्णय गरी अनुसन्धान गर्ने भनेर पत्राचार गरेका छौं। सामाजिक सञ्जालमा प्रसाईंको भिडिओ आएको छ। यसको अनुसन्धान गरिदिन भनेका हौं,’ अधिकारीले भने।
गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अध्यावधिक गर्ने निर्णय गरेको थियो। सो निर्णय पैसा लिएर गरिएको दाबी गर्दै प्रसाईंले एक सामाजिक कार्यक्रममा उक्त आरोपसहितको भिडिओ सार्वजनिक गरेका थिए।








