७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

३ हजार २ सय १३ जना समानुपातिका उम्मेदवारका नाम सार्वजनिक



निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार ५७ वटा निर्वाचन चिन्हअन्तर्गत ६३ राजनीतिक दलबाट कुल ३ हजार २ सय १३ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।

राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएका थिए । आयोगले ती सूचीहरू जाँचपछ आइतवार सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध गर्न चाहने मतदाताले माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् । दाबी–विरोध गर्न निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैबीच, प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन आगामी मंगलबार हुने आयोगले जनाएको छ ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। निर्वाचनबाट समानुपातिक प्रणालीमार्फत ११० जना र प्रत्यक्ष प्रणालीमार्फत १६५ जना गरी कुल २७५ जना सांसद निर्वाचित हुनेछन् ।

समानुपातिक उम्मेदवारको नाम थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ११ : १५ बजे