७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

तामाङ समुदायले सोनाम ल्होसार विविध कार्यक्रमसहित मनाए



तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

सोनाम ल्होसारको अवसरमा आइतबारदेखि नै काठमाडौंको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको थियो। महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकीसँगै परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाको आयोजनामा सोमबार टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी भएकी थिइन्।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ नयाँ वर्ष सुरु भएको छ। आज सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश गरेको छ। सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिनु यस पर्वको प्रकृतिपूजक परम्परासँग जोडिएको अनुसन्धानकर्ता टीका शेर्पाले बताए। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको जनाएको छ। यसैगरी नेपाल तामाङ घेदुङले टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौंको स्वयम्भू क्षेत्रमा पनि सोनाम ल्होसार विशेष कार्यक्रमका साथ मनाइएको छ।

करिब ४ हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाइन्छ। नेपालमा तामाङ समुदायका साथै ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत सोनाम ल्होसार मनाउने गर्दछन्।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  १० : २६ बजे