राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा पार्टीका बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मैथिली भाषामा सम्बोधन गर्दै आफू भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताएका छन् । उनले जनतासँग काम गर्न अवसर दिन आग्रह गर्दै काठमाडौंमा अवसर पाउँदा काम गरेर देखाएको दाबी गरे ।
राम–जानकी विवाह महोत्सवको सन्दर्भ उल्लेख गर्दै बालेनले विश्वप्रसिद्ध राम–जानकी विवाह जनकपुरमै भए पनि ‘डेस्टिनेसन वेडिङ’का लागि मानिसहरू जयपुर र बाली जानु दुःखद भएको बताए। मिथिलाको सरसफाइ, सुन्दरता र आकर्षण बढाउन राज्यको स्पष्ट नीति र नियम नदेखिएको उनको भनाइ थियो ।
उनले मधेसमा सबै दलका मानिसहरू एकै ठाउँमा आएको उल्लेख गर्दै जनकपुर र मधेसको विकास सिंगो देशभर फैलिनुपर्ने बताए। एनपीएल उपाधि जित्दा सिंगो मधेस खुसी भएको उदाहरण दिँदै विकास र उपलब्धिमा पनि सबै नागरिक एकैसाथ खुसी हुनुपर्ने धारणा राखे।
प्रदेश संरचनाबारे रास्वपाको धारणा स्पष्ट गर्दै बालेनले पार्टी प्रदेशलाई अझ बलियो बनाउने पक्षमा रहेको बताए। उनले प्रदेश सरकारको काम सीमित क्षेत्रमा मात्र नभई धेरै पालिकामा प्रभाव पार्ने खालको हुनुपर्ने बताए। जनकपुर प्रदेशको राजधानी हुँदाहुँदै पनि प्रशासकीय कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाप्रति प्रश्न उठाउँदै उनले अधिकार यहीँबाट प्रयोग हुनुपर्ने बताए।
काठमाडौं धाउने संस्कृतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले अब काठमाडौं अधिकार माग्न होइन, पशुपति र स्वयम्भू दर्शन गर्न जाने ठाउँ हुनुपर्ने बताए। चार वर्ष मेयरको रूपमा काम गर्दा माइतीघर मण्डलामा उखु किसान र मिटरब्याज पीडितको धर्ना देख्दा पनि आफू धेरै गर्न नसकेको अनुभूति व्यक्त गरे। तर महानगरबाट ३५ पालिकालाई एम्बुलेन्स दिन सफल भएको उल्लेख गर्दै संघ सरकारमा गए अझ धेरै काम गर्न सकिने दाबी गरे।
समाजवाद र लोकतन्त्रको उदाहरण दिँदै बालेनले काठमाडौं महानगरले हरेक वर्ष २० हजार विद्यार्थीलाई निःशुल्क शिक्षा दिइरहेको, महँगा अस्पतालमा २० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको तथा पार्टी, पौवा, पोखरी र फाल्चा निर्माण गरिएको बताए। यस्ता संरचना मिथिला र जनकपुरमा संरक्षणको प्रतीक्षामा रहेको भन्दै अब त्यो काम रास्वपाले गर्ने दाबी गरे।
मेयर पदबाट राजीनामा दिएपछि पहिलो पटक फुर्सद भएर भाषण दिएको उल्लेख गर्दै उनले नेपालमा वार्षिक १० लाख पर्यटक आउने भए पनि भारतको अयोध्यामा मात्रै १० करोड पर्यटक आउने तथ्य प्रस्तुत गरे। जानकी माताको भूमिले मात्रै एक करोड पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको उनको भनाइ थियो।
अन्त्यमा बालेनले भावनात्मक अपिल होइन, सही व्यक्ति र सही सरकार ल्याउनका लागि ‘घण्टी’मा मतदान गर्न आग्रह गरे।








