आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ सुशीला कार्की नेतृत्वको चुनावी सरकारका दुई मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले चुनावी प्रक्रियामा प्रत्यक्ष सहभागी हुन मन्त्री पद त्यागेका हुन् । निर्वाचन आयोगको आचारसंहिता र नैतिक आधारलाई मध्यनजर गर्दै भोलि माघ ६ गते हुने उम्मेदवारी दर्ताअघि नै उनीहरूले पदबाट हटने निर्णय गरेका हुन् ।
सञ्चार मन्त्री जगदिश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । उनले आज साँझ प्रधानमन्त्री कार्कीलाई आफ्नो राजीनामा बुझाउँदै नैतिक रूपमा सरकारमा बसेर चुनाव लड्नु उपयुक्त नहुने धारणा व्यक्त गरे ।
यस्तै, खेलकुद मन्त्री बब्लु गुप्ताले जनकपुरबाट आफ्नो राजीनामाको घोषणा गरेका छन् । उनी पनि रास्वपाकै टिकटमा मधेस प्रदेशबाट चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन्। यी दुवै मन्त्रीहरूले सुरुमा स्वतन्त्र छविबाट मन्त्री बने पनि चुनावका लागि भने रास्वपालाई नै आफ्नो राजनीतिक दलका रूपमा रोजेका छन्।
मन्त्रीहरूको धमाधम राजीनामासँगै चुनावी सरकारको आकार सानो हुँदै गएको छ । यसअघि नै ऊर्जा मन्त्री कुलमान घिसिङले राजीनामा दिएर चुनावी अभियान सुरु गरिसकेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा भाग लिने मन्त्रीहरूलाई पदबाट अलग हुन पहिले नै निर्देशन दिएका कारण पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । अब रिक्त रहेका मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्रीले अन्य बहालवाला मन्त्रीहरूलाई नै तोक्ने सम्भावना देखिएको छ । निर्वाचन आयोगले भोलि माघ ६ गतेका लागि पहिलो हुने निर्वाचित हुनेप्रणालीतर्फको मनोनयन दर्ताको समय तोकेसँगै राजनीतिक सरगर्मी निकै बढेको छ।








