७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

देशभर १६५ निर्वाचन क्षेत्रमा २,९२५ उम्मेदवारको मनोनयन दर्ता



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मंगलबार बेलुकी ६ बजेसम्म २ हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता सम्पन्न भएपछि निर्वाचन आयोगले मंगलबार बेलुकी आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका सचिव कृष्णबहादुर राउतले आयोगको प्रणालीमा आएको विवरण अनुसार ३३६ महिला र २ हजार ५८९ पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएको जानकारी दिएका हुन् । केही निर्वाचन क्षेत्रमा अझै रुजुको काम जारी रहेकाले उम्मेदवारको संख्या केही बढ्न सक्ने उनले बताएका छन् ।

कम उम्मेदवारी दर्ता भएको जिल्लामा मुस्ताङ परेको छ, जहाँ चार जना मात्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको सचिव राउतले जानकारी दिए । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा जनही ३५/३५ वटा उम्मेदवारी दर्ता भएका छन् । रुपन्देही क्षेत्र नं २ को रुजु सम्पन्न भइसकेको छ भने क्षेत्र नं ३ को रुजु प्रक्रिया बाँकी रहेको आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतका कार्यालयहरूबाट प्राप्त जानकारी अनुसार उम्मेदवारी दर्ता प्रक्रिया सामान्यतया शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो। उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने कार्यक्रम छ।

निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यस्तै माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुकी ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय गरी सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ७ : ३४ बजे