७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

प्रतिनिधिसभा निर्वाचन २०८२: झापा-५ मा ‘हेभीवेट’ भिडन्त, को नेता कहाँबाट?



आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उत्साहका साथ उम्मेदवार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

यस पटकको निर्वाचनमा सबैभन्दा बढी चर्चा झापा क्षेत्र नम्बर ५ को रहेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसै क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनको विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना बरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) लाई चुनावी मैदानमा उतारेको छ । यी दुई चर्चित व्यक्तित्वबीचको प्रतिस्पर्धालाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ । दुवै जनालाई पार्टीले भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ ।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले यसपटक आफ्नो परम्परागत क्षेत्र काठमाडौँ–४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका अर्का प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ–६ बाटै आफ्नो उम्मेदवारी दोहोर्‍याएका छन् भने महामन्त्री प्रदीप पौडेलले काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता गराएका छन्, जहाँ उनको मुख्य प्रतिस्पर्धा एमाले नेता ईश्वर पोखरेलसँग हुने छ । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले भने यस पटकको निर्वाचनमा उम्मेदवारी दिएका छैनन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटक रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको मुख्यालयसमेत रुकुममै रहने घोषणा गर्दै उनले सो क्षेत्र रोजेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाटै उम्मेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराईले गोरखा – २ बाट उम्मेदवारि दिएका छन् । अघिल्लो चुनावमा उक्त क्षेत्र माओवादीका दाहाललाई छाडेका थिए ।

त्यसैगरि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट, उज्यालो पार्टिका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ–३ बाट र जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी–२ बाट उम्मेदवारी दिएका छन् ।

आजको मनोनयन दर्तासँगै देशभर चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगका अनुसार आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि उनीहरूले औपचारिक रूपमा प्रचारप्रसार सुरु गर्नेछन् ।

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ९ : ३९ बजे