१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

आगामी निर्वाचनका लागि नेपाली सेनाको तयारी, हवाइ गस्तीदेखि कारागार सुरक्षासम्मको तयारी



आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले आफ्नो सुरक्षा तयारीलाई निकै सुदृढ र व्यापक बनाएको छ। पछिल्लो समय सुरक्षा चुनौती बढेको विश्लेषण गर्दै सेनाले यसपटक जमिनसँगै आकाशबाट पनि कडा निगरानी राख्ने रणनीति अपनाएको छ। सुरक्षा व्यवस्थालाई अभेद्य बनाउन नेपाली सेनाले पहिलो पटक हवाइ गस्तीको विशेष योजना अघि सारेको छ।

जंगी अड्डाका अनुसार निर्वाचन सुरक्षाका लागि देशका चार प्रमुख स्थानमा हेलिकप्टर र जहाजहरू तैनाथ गरिनेछन्। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार पूर्वको इटहरी र विराटनगरसहित काठमाडौँ, पोखरा र सुर्खेतलाई हवाइ आधार बनाइनेछ। विराटनगरमा जहाज र अन्य स्थानमा हेलिकप्टरहरू तयारी अवस्थामा रहनेछन्, जसले गर्दा कुनै पनि स्थानमा थप जनशक्ति आवश्यक परेमा वा आकस्मिक अवस्था आएमा तत्काल सैनिक टोली परिचालन गर्न सहज हुनेछ। सेनाले अवस्था र आवश्यकता अनुसार यी साधनहरूको स्थान हेरफेर गर्न सकिनेसमेत स्पष्ट पारेको छ।

निर्वाचनको एक महिना अघिदेखि नै नेपाली सेना पूर्ण रूपमा फिल्डमा खटिने तयारीमा छ। यस अवधिमा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका देशभरका विमानस्थल र कारागारहरूको सुरक्षा जिम्मेवारी पनि सेनाले सम्हाल्नेछ। मतपत्र छपाइ भइरहेको सानोठिमीमा अहिले नै चौबीसै घण्टा सुरक्षा दिइरहेको सेनाले दुर्गम स्थानहरूमा मतपत्र ढुवानी गर्ने र मतदान स्थलसम्म सुरक्षा प्रदान गर्ने जिम्मेवारी समेत पाएको छ।

यसपटकको निर्वाचनमा सेनाले तीन चरणको सुरक्षा तयारी गरेको छ, जसमा बम डिस्पोजल टोलीको परिचालन र अन्य सुरक्षा निकायसँगको संयुक्त अभ्यासलाई प्राथमिकता दिइएको छ। हरेक पालिकामा सेनाको टोली पुग्ने गरी बेसहरू तयार भइरहेका छन्। निर्वाचनको समयमा सेना तेस्रो घेरामा रहने भए तापनि आवश्यकता अनुसार निर्वाचन अधिकृत र अन्य सुरक्षा निकायसँग समन्वय गरी आफ्नो भूमिकालाई लचिलो बनाउने सेनाको योजना छ। मतदान सकिएपछि मतपेटिका ढुवानी र मतगणना स्थलको सुरक्षामा समेत सेना सक्रिय रहनेछ भने चुनावी प्रक्रिया पूर्ण रूपमा सम्पन्न भई अवस्था सामान्य भएपछि मात्र सैनिक टोली ब्यारेक फिर्ता हुनेछ।

प्रकाशित मिति : १७ माघ २०८२, शुक्रबार  ११ : २४ बजे