राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके क्षेत्र नम्बर ३ का आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई एक विवादित अभिव्यक्तिको विषयमा सचेत गराएको छ। गाई र गोरुको मासु खान पाउनुपर्ने आशयको पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीले उनलाई ध्यानाकर्षण गराउँदै स्पष्टीकरण सार्वजनिक गरेको हो। उनको उक्त भनाई रास्वपा प्रवेश अघि कै हो ।
सुनारले एक अन्तर्वार्तामा अन्य पशुपन्छीजस्तै गाई-गोरुको मासु पनि खान पाउनुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। सोही विषयमा शुक्रबार विज्ञप्ति जारी गर्दै रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले सुनारले रास्वपामा आबद्ध हुनुअघि दिएको उक्त अभिव्यक्तिबाट धार्मिक र सांस्कृतिक भावनामा पुगेको चोटप्रति क्षमायाचना गर्नुभएको छ।
विज्ञप्तिमा सुनारले आफ्नो भनाइप्रति आत्मलोचना गरिसकेको उल्लेख गरिएको छ। ‘उहाँले सार्वजनिक रूपमै आफू शाकाहारी भएको, पशुपन्छी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै दुबिधा नरहेको प्रस्ट पारिसक्नुभएको छ,’ रास्वपाले भनेको छ, ‘सामाजिक सञ्जालमा केही प्रसंगलाई तोडमोड गरी प्रचार गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्नुभएको छ।’
पार्टीले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन दिएको छ। सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नरहेकोमा पार्टी आश्वस्त रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
रास्वपाले आफ्नो विधान र प्रस्तावनामा नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक-सांस्कृतिक विविधतामा आधारित सह-अस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको स्पष्ट पार्दै सबै धर्म र संस्कृतिको सम्मान गर्न आफूहरू प्रतिबद्ध रहेको बताएको छ।









