अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले जेफ्री एप्स्टिनसँगको सम्बन्धबारे अमेरिकी कानुननिर्मातासमक्ष दिएको बयानमा आफूले “केही देखिनँ, केही गलत गरिनँ” भन्दै आरोप अस्वीकार गरेका छन् ।
समितिसमक्ष आफ्नो प्रारम्भिक वक्तव्य दिँदै क्लिन्टनले यदि एप्स्टिनका अपराधबारे आफूलाई जानकारी भएको भए “म आफैंले उजुरी गर्थें” बताएका हुन् ।
उनले समितिले आफ्नी पत्नी हिलारी क्लिन्टनलाई पनि बयानका लागि बोलाएको विषयमा असन्तुष्टि जनाउँदै एप्स्टिनसँग उनको “कुनै सम्बन्ध नभएको” दाबी गरे । हिलारी क्लिन्टनले बिहीबार करिब छ घण्टासम्म दिएको बयानमा आफूलाई एप्स्टिनका अपराधबारे “कुनै जानकारी नभएको” बताउँदै उक्त प्रक्रिया “पक्षपाती राजनीतिक नाटक” जस्तो भएको टिप्पणी गरेकी थिइन् । रिपब्लिकन पक्षले हिलारीको बयानको भिडियो शुक्रबार साँझ वा शनिबार सार्वजनिक गर्ने जनाएको छ ।
एप्स्टिनसम्बन्धी फाइलमा बिल क्लिन्टनका तस्बिरहरू सार्वजनिक भएका छन् भने उनले यसअघि एप्स्टिनको निजी विमानमा यात्रा गरेको स्वीकार गरिसकेका छन् । यद्यपि उनले एप्स्टिनका यौन अपराधबारे आफूलाई कुनै जानकारी नभएको दोहोर्याएका छन् । साथै, एप्स्टिनसम्बन्धी कागजातमा नाम देखिनु मात्रैबाट कुनै गैरकानुनी काम गरेको ठहर नहुने स्पष्ट पारिएको छ ।
न्युयोर्कको चप्पाक्वाबाट गरिएको प्रतिवेदनअनुसार समितिमा बयानको दोस्रो दिन राजनीतिक माहोल झन् तातेको छ । रिपब्लिकन र डेमोक्र्याट सदस्यहरूले हिलारी क्लिन्टनको व्यवहार र विश्वसनीयताबारे फरक–फरक मूल्यांकन गरेका छन् । रिपब्लिकन प्रतिनिधि न्यान्सी मेसले बयानका क्रममा हिलारी “असन्तुलित” देखिएको आरोप लगाएकी थिइन् भने डेमोक्र्याट सदस्यहरूले त्यसलाई अतिरञ्जित व्याख्या बताएका छन् । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले आफैं मूल्यांकन गर्न सक्ने उनीहरूको भनाइ छ ।
विश्लेषकहरूका अनुसार बिल क्लिन्टनमाथिको प्रश्नोत्तर अझ लामो र तनावपूर्ण हुने अपेक्षा गरिएको छ । राष्ट्रपति पदबाट बाहिरिएपछि परोपकारी कार्य विस्तार गर्ने क्रममा उनले एप्स्टिनसँग भेटघाट र यात्राहरू गरेको अभिलेखमा देखिन्छ । ती भेटघाटहरू एप्स्टिनमाथि संघीय यौन तस्करी अनुसन्धान सुरु हुनुअघि भएका थिए । क्लिन्टनले एप्स्टिनसँगको सम्बन्धप्रति पछुतो व्यक्त गर्दै अपराधबारे आफूलाई त्यतिबेला थाहा नभएको दाबी गरेका छन् ।
आफ्नो वक्तव्यको अन्त्यमा क्लिन्टनले आफू कसम खाएर बयान दिइरहेकाले अनुमान वा अड्कलबाजी नगर्ने स्पष्ट पारे। “मलाई सम्झना छैन भन्ने कुरा तपाईंहरूलाई सन्तोषजनक नलाग्न सक्छ, तर म निश्चित नभएको कुरा भन्न सक्दिनँ,” उनले भने। “२४ वर्षपछि म जासूस बनेर खेल खेल्न सक्दिनँ।” उनले प्रश्नहरूको उत्तर दिन तयार रहेको तर त्यसको प्रतीक्षा गरिरहेको झुटो दाबी नगर्ने पनि उल्लेख गरे।








