२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

आईपुगे निर्वाचन पर्यवेक्षणका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरू



प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई निर्वाचन आयोगले निर्वाचनसम्बन्धी विस्तृत जानकारी गराएको छ।

निर्वाचन आयोग का प्रवक्ता नारायणप्रसाद भट्टराई ले आयोगको निमन्त्रणामा नेपाल आएका नौ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन र सम्पूर्ण प्रक्रियाबारे जानकारी गराइएको बताए।

उनका अनुसार निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा पर्यवेक्षकहरूको जिज्ञासा समाधान हुने गरी तथ्यसहित जानकारी प्रस्तुत गरिएको हो। विदेशी पर्यवेक्षकहरू मतदान सम्पन्न भई मतगणना प्रारम्भ हुने शनिबारसम्म नेपालमै रहनेछन्।

यस अवधिमा उनीहरूले आयोगसँग समन्वय गरी तोकिएका मतदान केन्द्रहरूमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्नेछन्। साथै, धेरै पर्यवेक्षकहरूले मतदानपछि मतगणनाको प्रक्रियासमेत अवलोकन गर्ने इच्छा व्यक्त गरेको प्रवक्ता भट्टराईले जानकारी दिए।

निर्वाचन पर्यवेक्षणका लागि रुस, मलेसिया, जापान, श्रीलंका, माल्दिभ्स, भूटान, इण्डोनेसिया र बङ्गलादेशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरू नेपाल आइसकेका छन्। यसबाहेक विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचन पर्यवेक्षण गर्ने जनाइएको छ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले सम्पन्न गर्न सबै तयारी पूरा भएको जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ११ : २३ बजे