पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पिएम २.५) को मात्रा उल्लेखनीय रूपमा बढेको छ ।
श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उनले बताए ।
प्रदूषणका कारण ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका तथा दीर्घरोगीहरू उच्च जोखिममा रहने भएकाले उनीहरूले विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
‘यसले सामान्य आँखा दुख्ने वा पाक्ने समस्यादेखि दृष्टिमा असर पर्ने, मुटु, मिर्गौला र श्वासप्रश्वास सम्बन्धी गम्भीर रोग निम्त्याउन सक्छ। दीर्घकालीन रूपमा क्यान्सरको जोखिम समेत बढ्न सक्छ,’ प्रवक्ता डा. बुढाथोकीले बताए ।
बिहान र बेलुका बाहिर ननिस्कन सुझाव
प्रदूषणबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घर बाहिर ननिस्कन सुझाव दिएको छ ।
बिहान र साँझको समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको छ।
बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन तथा छालालाई प्रदूषणबाट जोगाउन शरीर छोपिने गरी कपडा र टोपी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ।
प्रदूषण नियन्त्रणका लागि मन्त्रालयबीच समन्वय
वायु प्रदूषण न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँग पनि समन्वय र छलफल गरिरहेको जनाएको छ ।
प्रवक्ता बुढाथोकीका अनुसार उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन तथा वातावरण मन्त्रालयसँग प्रदूषण कम गर्ने विषयमा निरन्तर समन्वय भइरहेको छ।
सवारी साधनबाट निस्कने धुवाँ, उद्योग–कलकारखाना, कृषिमा विषादीको अत्यधिक प्रयोग, जथाभावी फोहोर तथा प्लास्टिक जलाउने कार्य र वन डढेलो जस्ता कारण नियन्त्रण नगरेसम्म प्रदूषण कम गर्न कठिन हुने मन्त्रालयको भनाइ छ ।
तत्कालका लागि भने प्रदूषणको प्रत्यक्ष असरबाट बच्न व्यक्तिगत सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।









