२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

बालेन शाह प्रधानमन्त्री बन्न लागेकोमा मधेसवादी दलहरुको खुसी



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको नयाँ प्रधानमन्त्री बन्न लागेकोमा मधेसवादी दलहरुको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले स्वागत गर्दै खुसी प्रकट गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा शुक्रबार बसेको मोर्चाको मूल समितिको बैठकले शाहको नेतृत्वलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा मोर्चाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा आम जनताले बालेनको नेतृत्वलाई दिएको व्यापक जनसमर्थनको कदर गर्दै उनी प्रधानमन्त्रीको भूमिकामा देखिनु उत्पीडित समुदायका लागि गर्वको विषय भएको उल्लेख गरेको छ ।

मोर्चाले नवनियुक्त हुन लागेका प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना दिँदै उनको कार्यकालमा मधेसी, थारू, आदिवासी र जनजाति लगायतका समुदायले लामो समयदेखि उठाउँदै आएका मागहरू सम्बोधन हुने विश्वास व्यक्त गरेको छ । विशेष गरी संविधान संशोधन, प्रदेशको सीमांकन हेरफेर र जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दाहरू नयाँ सरकारको प्राथमिकतामा पर्ने मोर्चाको अपेक्षा छ ।

यसका साथै विगतका आन्दोलन र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिता जस्ता उपलब्धिहरूलाई संस्थागत गर्न बालेन नेतृत्वको सरकारले ठोस कदम चाल्नेमा मोर्चा आशावादी देखिएको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीयतालाई थप सुदृढ बनाउने लगायतका अधुरा कामहरू नयाँ नेतृत्वबाट पुरा हुने विश्वासका साथ मोर्चाले आफ्नो तर्फबाट रचनात्मक सहयोग रहने संकेत समेत दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १० : ०८ बजे