२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

फेवातालको चारकिल्लाको जग्गाबारे थाहा पाउन समिति




फेवाताल को चार किल्लाभित्र पर्ने जग्गाको यथार्थ अवस्था पहिचान गर्न सरकारले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा उक्त समिति गठन गरेको जनाएको छ। समितिले फेवाताल क्षेत्रभित्र पर्ने जग्गाको वर्तमान अवस्था, त्यहाँ निर्माण भएका संरचना तथा उपयोगको अवस्थाबारे विस्तृत अध्ययन गर्नेछ।

समितिलाई ताल क्षेत्रभित्रका सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलन गरी अभिलेखीकरण गर्ने जिम्मेवारी दिइएको छ। साथै, निजी तथा सरकारी स्वामित्वमा रहेका जग्गाको दर्ता स्थिति र प्रयोगको अवस्थाबारे पनि विस्तृत अध्ययन गरिने मन्त्रालयले जानकारी दिएको छ।

फेवाताल क्षेत्रको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको मन्त्रालयको भनाइ छ। समितिलाई ताल क्षेत्रभित्र रहेका सबै कित्ताको यकिन विवरणसहित प्रतिवेदन तयार गरी पेस गर्न ७ दिनको समय दिइएको छ।

यसअघि बालेन शाह ले फेवाताल संरक्षणमा चासो देखाएपछि पोखरा महानगरपालिका ले अतिक्रमित क्षेत्र खाली गराउने अभियानसमेत सुरु गरेको थियो।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ९ : २७ बजे