२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

कार्यवाहक सभापतिको दाबी गर्दै विज्ञप्ति जारी गरेको भन्दै पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण



नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादका बीच केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। बुधबार सानेपास्थित पार्टी कार्यालयमा बसेको अनुशासन समितिको बैठकले खड्काले नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको ठहर गर्दै कारबाहीको प्रक्रिया अघि बढाएको हो।

समितिका संयोजक तारामान गुरूङका अनुसार, पार्टीको विधान विपरीत जिम्मेवारीमा नरहेको पद उल्लेख गरी वक्तव्य जारी गरेकोमा खड्कालाई यसअघि नै चैत १८ गते सचेत गराइएको थियो। तर, सचेत गराउँदा गराउँदै पनि खड्काले पुनः चैत ३० गते नक्कली लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको भए पनि खड्काले भने तत्कालीन सभापति शेरबहादुर देउवाले दिएको कार्यवाहकको जिम्मेवारी कायमै रहेको दाबी गर्दै आएका छन्।

पार्टीभित्रको यो विवाद अहिले सर्वोच्च अदालतसम्म पुगेको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई मान्यता दिएपछि देउवा पक्षले त्यसका विरुद्ध मुद्दा दायर गरेको थियो, जुन अहिले विचाराधीन अवस्थामा छ। अनुशासन समितिले खड्कालाई ‘नक्कली लेटरप्याड’ प्रयोगकर्ताको आरोप लगाइरहँदा खड्काले भने आफूले अवैधानिक मानेको समितिले सोधेको स्पष्टीकरणको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन्।

नेता खड्काले भने आफू कार्यवाहक सभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिको म्यान्डेटअनुसार नै अदालत गएको र विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार नगरेका कारण चुनाव समेत नलडेको जिकिर गरेका छन् । उनले आफूले मुद्दा हालेको र अवैधानिक ठानेको समितिले स्पष्टीकरण सोध्नुलाई ‘हास्यास्पद र अर्थहीन’ संज्ञा दिँदै सर्वोच्च अदालतको फैसला नआएसम्म यस्ता पत्रहरूको कुनै तुक नहुने स्पष्ट पारेका छन्। यसैबीच, अनुशासन समितिले प्रतिनिधि सभा निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघनका उजुरी दिने म्याद २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : ५५ बजे