२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीको बचत फिर्ता सुरु गर्ने तयारी



समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गरिरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ ।

समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । हालसम्म सरकारबाट चक्रीय कोषमार्फत २६ करोड रुपैयाँ सापटी लिइएको र ऋणीहरूबाट करिब ६० करोड रुपैयाँ कर्जा असुल भइसकेको जानकारी दिइएको छ ।

समितिले बचतकर्तालाई रकम फिर्ता गर्न कर्जा असुलीलाई प्राथमिकतामा राख्ने स्पष्ट पारेको छ । जारी विज्ञप्तिअनुसार पहिलो चरणमा मागदाबी गरेका बचतकर्तालाई रकम फिर्ता गरिनेछ भने छुट भएका बचतकर्ताका लागि पुनः मागदाबी खुला गरिने तयारी गरिएको छ ।

त्यस्तै, बचत मिलानका लागि वैज्ञानिक तथा न्यायपूर्ण कार्यविधि निर्माण गरिने समितिले जनाएको छ ।

कर्जा असुलीलाई प्रभावकारी बनाउन समितिले कडा नीति अवलम्बन गर्ने भएको छ । किस्ताबन्दीमा भुक्तानी गर्न लिखित प्रतिबद्धता जनाउने ऋणीलाई निश्चित समय दिइनेछ भने अटेरी गर्नेहरूको तीनपुस्ते विवरण सार्वजनिक गर्ने र परिवारका सदस्यसमेतलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।

यससँगै गुनासो व्यवस्थापन र सूचना प्रवाहलाई नियमित बनाउने, सरोकारवालासँग छलफल गर्ने तथा आन्तरिक पुनःसंरचना र कार्ययोजना निर्माणलाई तीव्रता दिने योजना पनि अघि सारिएको छ ।

समितिले कार्यसम्पादन प्रभावकारी बनाउन विज्ञ तथा सचेत नागरिकसँग सुझाव र सहयोगको अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १० : ०६ बजे