आप्रवासीविरुद्ध कडा रवैया अपनाइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश मुताविक संघीय अध्यागमन अधिकारीहरूले शनिबार कोलम्बिया विश्वविद्यालयका पूर्वविद्यार्थी तथा प्यालेस्टिनी अभियन्ता महमुद खलिललाई पक्राउ गरेका छन् ।
खलिलमाथि विश्व विद्यालयमा इजरायल विरोधी प्रदर्शनको नेतृत्व गरेको आरोप लागेको छ । ट्रम्प प्रशासनले विद्यार्थी आन्दोलनकारीहरूलाई पक्राउ र देशनिकाला गर्ने प्रतिबद्धता गरेकामा यो पक्राउलाई त्यसैको कदमका रूपमा हेरिएको छ ।
खलिल गत डिसेम्बरसम्म कोलम्बिया विश्वविद्यालयका स्नातक विद्यार्थी थिए । शनिबार राति उनी विश्वविद्यालय स्वामित्वको अपार्टमेन्टमा रहेका बेला अध्यागमन अधिकारीहरुले प्रवेश गरी नियन्त्रणमा लिएको उनका कानुनी प्रतिनिधि एमी ग्रियरले एपीलाई जानकारी दिएकी छन् ।
ग्रियरका अनुसार पक्राउ गर्ने क्रममा अध्यागमन अधिकारीहरुले विदेश मन्त्रालयको आदेशअनुसार खलिलको विद्यार्थी भिसा रद्द गरिएको बताएका थिए । तर, जब ग्रियरले खलिल स्थायी आवास (ग्रिन कार्ड) भएका व्यक्ति भएको जानकारी दिइन्, एजेन्टहरूले सोही कार्ड पनि खारेज हुने बताएका थिए ।
अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयका प्रवक्ता ट्रिसिया म्याकलफ्लिनले आइतबार खलिलको गिरफ्तारी पुष्टि गर्दै यसलाई “राष्ट्रपति ट्रम्पको यहूदी विरोधी गतिविधि रोक्ने कार्यकारी आदेश” को समर्थनमा गरिएको बताइन् ।
खलिलको गिरफ्तारी ट्रम्प प्रशासनको पहिलो सार्वजनिक रुपमा देखिएको त्यस्तो कदम हो, जसअन्तर्गत गाजा युद्धविरुद्ध प्रदर्शन गर्ने विद्यार्थीहरूलाई देशनिकाला गरिने बताइएको थियो । प्रशासनले यस्ता प्रदर्शनमा संलग्न व्यक्तिहरूले हमासको समर्थन गरेको भन्दै देशमा बस्न नपाउने बताउँदै आएको छ ।
म्याकलफ्लिनले खलिललाई हमास समर्थित गतिविधिहरूको नेतृत्व गरेको आरोप लगाएका छन् । पक्राउको बेला अधिकारीहरूले खलिलकी आठ महिनाकी गर्भवती अमेरिकी नागरिक पत्नीलाई पनि पक्राउ गर्ने धम्की दिएको ग्रियरले बताइन् ।
कोलम्बिया विश्वविद्यालयका प्रवक्ताले विश्वविद्यालय परिसरमा कुनै पनि कानूनी निकायले वारन्टबिना प्रवेश गर्न नपाउने स्पष्ट गरे । तर, खलिलको गिरफ्तारीबारे विश्वविद्यालयले थप टिप्पणी गर्न अस्वीकार गरेको छ । यस घटनापछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले “अमेरिकामा हमास समर्थकहरूको भिसा वा ग्रिन कार्ड खारेज गरिने” बताएका छन् ।
अध्यागमन कानून विशेषज्ञहरूले खलिलजस्तो कुनै अपराधमा संलग्न नभएका स्थायी बासिन्दालाई पक्राउ गर्नु असाधारण कदम भएको बताएका छन् । “यो प्रशासनलाई मन नपरेका विचार व्यक्त गर्ने व्यक्तिलाई लक्षित गरी गरिएको प्रतिशोधात्मक कारबाही हो,” इमिग्रेन्ट एआरसीकी संस्थापक क्यामिली म्याकलरले टिप्पणी गरिन् ।
प्रदर्शनका क्रममा खलिल कोलम्बिया विश्वविद्यालयका छात्रहरूको तर्फबाट वार्ताकारका रूपमा प्रस्तुत भएका थिए । यस भूमिकाका कारण उनी विश्वविद्यालय प्रशासनसँगको छलफलमा प्रमुख व्यक्तित्व थिए । ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयलाई यहूदी विरोधी गतिविधि नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै करोडौँ डलरको सरकारी अनुदान कटौती गरिसकेको छ ।
खलिलले आफूमाथि लागेको आरोप झूटो भएको बताउँदै भनेका छन्, “मलाई १३ वटा आरोप लगाइएको छ, तर तिनमा अधिकांश सामाजिक सञ्जालमा देखिएका पोस्टहरूसँग म संलग्न छैन ।”
– एपीबाट









