१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नेपाल टेलिकमको बिलिङ घोटाला : प्रबन्धनिर्देशकसहित १८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर



नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को बिलिङ प्रणालीमा मर्मतमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामध्ये टेलिकमकी कार्यकारी प्रमुख संगीता पहाडीसमेत रहेकी छन् । मुद्दा दायर भएसँगै पहाडी निलम्बनमा परेकी छिन् ।

तीन दशकदेखि दूरसञ्चार क्षेत्रमा सक्रिय पहाडी पूर्व कार्यकारी निर्देशक सुनील पौडेल निलम्बनमा परेपछि प्रतिस्पर्धाबाट टेलिकमको नेतृत्वमा पुगेकी थिइन् । अहिले उनै पौडेलसहित पहाडीसमेत अख्तियारको भ्रष्टाचार मुद्दामा तानिएकी छन् ।

अख्तियारले दायर गरेको मुद्दामा टेलिकमका १४ जना कर्मचारी र चिनियाँ कम्पनी एशियाइन्फो लिङकेज टेक्नोलोजिस् इंक का कर्मचारीमाथि पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले दायर मुद्दामा उल्लेख भएअनुसार टेलिकमका कर्मचारीहरुले कनभर्जेन्ट रियल टाइम बिलिङ र कस्टोमर सपोर्ट प्रणाली खरिदका क्रममा चीनको एशियाइन्फोसँग मर्मत सम्झौतामा अनियमितता गरेका थिए । सम्झौताअनुसार मर्मत सेवा वार्षिक ५ प्रतिशत छुटमा हुनुपर्नेमा उल्टै उच्च दरमा सम्झौता गरिएको अख्तियारको दाबी छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त सम्झौतामार्फत टेलिकमलाई झन्डै ३३ करोड ४८ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको छ । “वार्षिक ५ प्रतिशत छुटसहितको एमसी सेवा प्रावधानविपरीत एसियाइन्फोसँग २ करोड ५ लाख ६३ हजार अमेरिकी डलरमा मर्मत सम्झौता गरिएको छ, जसले कम्पनीलाई आर्थिक नोक्सानी पुर्‍याएको छ” उनले भनेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ९ : २९ बजे