सरकारले फिर्ता बोलाएका राजदूतहरू परराष्ट्र मन्त्राययमा हाजिर हुन थालेका छन् । त्यहाँ व्यवस्था गरिएको साझा टेबलमा पुगेर हाजिर गर्ने चिया खाने र फर्कने दिनचार्य सुरु भएको छ ।
सरकारले राजीनामा दिओस भन्ने आशयले फिर्ता बोलाए पनि बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरे बाहेक अन्य १० राजदूतले राजिनामा दिएका छैनन् । फिर्ता बोलाइएकामध्ये बेलायतका राजदूत घिमिरेले राजीनामा दिइसकेका छन् ।
सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर त्यस बिरुद्धमा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रोके पछि उनीहरुलाई मन्त्रालयमा काज सरुवा गरिएको हो । प्रधानमन्त्री सुशीला कार्कीले यसअघि नै राजदूतहरुले सरकारको विरुद्ध अविश्वास पैदा गरेको तथा केहीको सम्बन्धमा आर्थिक समस्या देखिएकोले फिर्ता बोलाइएको बताएका थिए ।
मन्त्रिपरिषदले ३० असोजमा चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नियुक्त ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तीमध्ये १० जना राजनीतिक कोटाबाट नियुक्त भएका थिए भने जापानका दुर्गाबहादुर सुवेदी निजामती सेवाबाट अवकाशप्राप्त कूटनीतिज्ञ हुन् ।
फिर्ता बोलाइएका ११ मध्ये १० जना राजदूत २० कार्तिकमै काठमाडौं आइपुगेका छन् । रुसका राजदूत जङ्गबहादुर चौहान स्वास्थ्य कारणले केही ढिलो फर्कने तयारीमा छन् ।
परराष्ट्र मन्त्रालयले ती राजदूतका लागि छुट्टै हाजिरी पुस्तिका राखेको छ । केही राजदूतले निरन्तर हाजिर गरिरहेका छन् भने कतिपयले एकपटक हस्ताक्षर गरेर बिदा लिएका छन् ।









