२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

पूर्वसभामुख महरा २० लाख धरौटी बुझाएर रिहा



सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएपछि महराले काठमाडौं जिल्ला अदालतमा नगद नै धरौटी बुझाएपछि रिहा गरिएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी जिल्ला अदालतले गरेको आदेश नमिलेको ठहर गर्दै बदर गरिदिएको थियो।

महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो। त्यसपछि असोज २९ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्लाको सो निर्णयविरुद्ध महरा उच्च अदालत पुगेका थिए, जहाँ उनले थुनाबाहिरै राखेर मुद्दा केश चलाउनुपर्ने माग गरेका थिए।

गत वर्ष चैत ९ गते जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै महरालाई अनुसन्धानका लागि उपस्थित हुने गरी छोराको जिम्मा लगाएको थियो। स्वास्थ्य र कानुनी प्रक्रिया दुवै पक्षलाई अध्ययन–विवेचना गरेकाे उच्च अदालतको आदेशपछि उनी धरौटीमा रिहा भएका हुन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, बिहिबार  ७ : ३७ बजे