बाराको परवानीपुरमा भएको आमा-छोराको विभत्स हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका-१ रहरियाडीमा बुधबार बिहान भएको सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धर्मेन्द्र महतो नाम गरेका पुरुषलाई पक्राउ गरेको हो ।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार प्रारम्भिक अनुसन्धानमा महतोको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ । यसअघि प्रहरीले मृतक सुमित्रा देवीकी बुहारी एवं रामेश्वरकी श्रीमती २८ वर्षीया मनिता देवीलाई नियन्त्रणमा लिएको थियो ।
बुधबार बिहान २ बजेतिर एक व्यक्ति घरभित्र प्रवेश गरी अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा ५२ वर्षीया सुमित्रा देवी र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो । सुमित्राको शव घरबाहिर शौचालय नजिकै भेटिएको थियो भने रामेश्वरको शव घरभित्रै फेला परेको थियो । प्रहरीका अनुसार मनिता शौचालय जान निस्कँदा सुमित्रा पनि उनीसँगै बाहिर निस्किएकी थिइन् ।
घटना हुँदा घरमा परिवारका आठ सदस्य रहेका थिए । आक्रमणमा सुमित्राका श्रीमान जगरूक मण्डल, छोरी किरणदेवी र बुहारी मनितादेवी घाइते भएका छन् । घाइतेमध्ये जगरूक मण्डलको अवस्था गम्भीर रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार घटनाको प्रकृति र पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा हत्याको कारण र योजनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ । बुहारी मनिता देवीलाई सामान्य चोट लागे पनि उनको भूमिका शंकास्पद देखिएकाले प्रहरीले दुवै जनालाई केन्द्रमा राखेर सोधपुछ गरिरहेको छ ।









