सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनबापत उपलब्ध गराइने दैनिक रकममा वृद्धि गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी यो वृद्धि गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले २०८२ साल फागुन १ गतेदेखि नेपाल प्रहरीका सकल दर्जाले बढेको रासन सुविधा पाउने जानकारी दिए ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार यसपटक रासनको परिमाण र गुणस्तर दुवैमा व्यापक सुधार गरिएको छ। यसअघि रासनमा दाल, चामल, मासु र तरकारी लगायत १६ वटा आइटम समावेश हुने गरेकोमा अब त्यसलाई बढाएर १९ आइटम पुर्याइएको छ।
त्यसैगरी प्रहरीले दैनिक प्राप्त गर्ने रासनको ऊर्जा क्षमता अर्थात् क्यालरीमा पनि वृद्धि गरिएको छ। यसअघि दैनिक ४ हजार ३०.५ क्यालरी प्राप्त गर्दै आएका प्रहरीले अबदेखि ४ हजार ३६४ क्यालरी बराबरको रासन पाउने सुनिश्चित गरिएको छ। रासनका सामग्री थपिएको र बजार मूल्यमा भएको वृद्धिका कारण समग्र रासन भत्तामा १० प्रतिशतले बढोत्तरी भएको प्रवक्ता काफ्लेले बताए ।
भौगोलिक विकटता र बजार मूल्यका आधारमा रासन भत्ताको दर जिल्ला अनुसार फरक-फरक कायम गरिएको छ। जसअनुसार सबैभन्दा कम रासन भत्ता रहेको झापा जिल्लामा साविकको १८० रुपैयाँ ५५ पैसाबाट बढेर अब दैनिक १९९ रुपैयाँ १० पैसा पुगेको छ।
काठमाडौँ उपत्यकामा कार्यरत प्रहरीले अब दैनिक २२१ रुपैयाँ ९२ पैसा रासन भत्ता पाउनेछन्, जहाँ यसअघि २०१ रुपैयाँ तोकिएको थियो। दुर्गम हिमाली जिल्ला हुम्लाको माथिल्लो भेगमा खटिने प्रहरीका लागि सबैभन्दा बढी ९५२ रुपैयाँ ३६ पैसा दैनिक भत्ता कायम गरिएको छ, जुन यसअघि ८६३ रुपैयाँ ६५ पैसा रहेको थियो। तराईका जिल्लाको तुलनामा हिमाली क्षेत्रमा खाद्यान्न ढुवानी र बजार मूल्य महँगो हुने भएकाले त्यहाँको दर उच्च राखिएको हो। सरकारको यो निर्णयबाट देशभर कार्यरत हजारौँ प्रहरी कर्मचारी प्रत्यक्ष लाभान्वित हुने देखिएको छ।









