१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

प्रहरीको गोली प्रहारबाट १० लुटेरा पक्राउ, ‘जेनजी’ आन्दोलनको मौकामा हिरासतबाट भागेका विनय मुख्य नाइके



काठमाडौँ उपत्यकामा शृंखलाबद्ध लुटपाट मच्चाउने एक गिरोहका १० जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार बिहानीपख सञ्चालन गरेको विशेष अपरेसनका क्रममा मुख्य योजनाकार विनय तामाङसहित १० जनालाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा यस गिरोहका मुख्य नाइके २३ वर्षीय विनय तामाङ ‘जेनजी’ आन्दोलनको समयमा प्रहरी हिरासतबाट फरार भएका कैदी भएको खुलेको छ। डाँका चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका तामाङ आन्दोलनको भिडभाड र अन्योलको फाइदा उठाउँदै फरार भएका थिए। हिरासतबाट उम्किएपछि उनले १० जनाको समूह बनाएर उपत्यकामा आतंक मच्चाउन थालेको प्रहरीको भनाइ छ।

९ घण्टाको अपरेसन र मुठभेड

परिसरका एसएसपी रमेश थापाका अनुसार बुधबार साँझ ६ बजेदेखि सुरु भएको प्रहरी अपरेसन बिहीबार बिहान ३ बजेसम्म चलेको थियो। मुलपानी क्रिकेट मैदान नजिकैको चेकिङ पोस्टमा प्रहरीले रोक्न खोज्दा विनयले अटेर गरी प्रहरीलाई नै धक्कामुक्की गरेर भाग्न खोजेपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको थियो। खुट्टामा गोली लागेका विनयको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

२७ ठाउँमा लुटपाट: यस्तो थियो कार्यशैली

यो समूहले स्वयम्भू, बौद्ध लगायत उपत्यकाका विभिन्न २७ ठाउँमा लुटपाट गरिसकेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरूले मुख्यगरी रातको समयमा साग बेचेर फर्किने महिला, पैदलयात्री र काम विशेषले ढिला गरी हिँड्ने व्यक्तिहरूलाई निशाना बनाउने गरेका थिए। एउटा मोटरसाइकलमा तीन जना सवार हुने र खुकुरी देखाएर सुनका गरगहना, नगद र मोबाइल लुट्ने उनीहरूको शैली थियो।

लुटपाटलाई व्यवस्थित बनाउन उनीहरूले दिउँसो कार र ट्याक्सी चढेर ‘रेकी’ (निगरानी) गर्ने गरेको पाइएको छ। ट्याक्सी चालकसमेत सदस्य रहेको यस समूहले आफ्नै ग्राहकको समेत निगरानी गरी पछि लुट्ने गरेको एसएसपी थापाले बताए। पक्राउ परेकाहरूको साथबाट ६ थान पल्सर मोटरसाइकल, एक कार, एक ट्याक्सी र खुकुरी बरामद गरिएको छ। प्रहरीका अनुसार मोटरसाइकलको नम्बर प्लेट चिनिन नदिन उनीहरूले हिलो छ्याप्ने गरेका थिए।

सबै अभियुक्त ‘पटके’

पक्राउ पर्नेहरूमा विनय तामाङ, आयन माझी, सविन माझी, मनिस रमाइली, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्। पक्राउ परेका १० जना नै यसअघि पनि डाँका, चोरी र लागुऔषध जस्ता गम्भीर अपराधमा संलग्न ‘पटके’ अभियुक्त भएको क्रिमिनल रेकर्ड सिस्टमबाट देखिएको छ।

पक्राउ परेकामध्ये पेमा र सलोन सहोदर दाजुभाइ हुन् भने विदुर विश्वकर्मा लुटिएका गहना खरिद गर्ने व्यक्तिको रूपमा पहिचान भएका छन्। प्रहरीले अहिले यस घटनाबारे थप विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १६ माघ २०८२, बिहिबार  ११ : २३ बजे