१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अबुधाबीमा मिसाइलको टुक्रा खस्दा घाइते ६ नेपाली डिस्चार्ज, गम्भीर घाइते एक जना खतरामुक्त



संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित अब्जान क्षेत्रमा इरानी मिसाइललाई निस्तेज बनाउने क्रममा खसेको टुक्राबाट घाइते भएका ६ जना नेपाली नागरिक उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उक्त घटनामा गम्भीर घाइते भएका अन्य एक जना नेपाली पनि हाल खतरामुक्त रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार डिस्चार्ज भएका ६ जनाबाहेक गम्भीर अवस्थामा रहेका एक जनाको भने अझै अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गएको र छिट्टै डिस्चार्ज हुन सक्ने सम्भावना रहेको दूतावासले उल्लेख गरेको छ ।

नेपाली दूतावासले घाइतेहरूसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै चार जनासँग प्रत्यक्ष भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएको छ । घाइतेहरूको आवश्यक सहयोग र समन्वयका लागि निरन्तर पहल भइरहेको र उनीहरूको उपचार यूएई सरकारको समन्वयमा भइरहेको दूतावासले जनाएको छ ।

इरानबाट आएको मिसाइल र ड्रोनलाई युएईको सुरक्षा संयन्त्रले निस्तेज बनाउने क्रममा तिनीहरूका टुक्राहरू भुइँमा खस्दा यो घटना भएको हो ।

यूएईको रक्षा मन्त्रालयका अनुसार गत शुक्रबार इरानबाट प्रहार गरिएका १८ वटा ब्यालिस्टिक मिसाइल, ४ वटा क्रुज मिसाइल र ४७ वटा ड्रोनलाई निस्तेज बनाइएको थियो । मन्त्रालयको तथ्याङ्क अनुसार २८ फेब्रुअरीदेखि सुरु भएको युद्धयता यूएईले हालसम्म कुल ४७५ ब्यालिस्टिक मिसाइल, २३ क्रुज मिसाइल र २,०८५ ड्रोनहरूलाई आकाशमै विफल पारिसकेको छ ।

यस युद्ध सुरु भएयता यूएईमा विभिन्न देशका नागरिकसहित हालसम्म २०३ जना घाइते भएका छन् । सोही अवधिमा २ जना सैनिकसहित ८ जनाको ज्यान गइसकेको छ, जसमा एक जना नेपाली नागरिक पनि परेका छन् ।

यसैबीच, नेपाली दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई स्थानीय निकायले जारी गरेका सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । साथै, आधिकारिक स्रोतबाट आउने सूचनामा मात्र विश्वास गर्न र सधैँ सतर्क रहन पनि दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : १६ बजे