काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक मतभेद चुलिँदै गएको छ । महामन्त्री धवल शम्शेर राणा पक्षले आइतबार काठमाडौंमा भेला आयोजना गर्दै पार्टी नेतृत्वसमक्ष तत्काल महाधिवेशन मिति तोक्न र निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ ।
भेलापछि महामन्त्री राणा समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लाई पत्र लेख्दै एक साताभित्रै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न आग्रह गरेको हो । उनीहरूले सन्तुलित र विश्वसनीय वातावरणमा महाधिवेशन सम्पन्न गर्न स्वतन्त्र संयोजक आवश्यक रहेको बताएका छन् ।
राप्रपाको नेतृत्वमा हाल अध्यक्ष लिङ्देन छन्, जसले २०७८ सालको महाधिवेशनमा कमल थापा लाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए । यद्यपि, राणा पक्ष अध्यक्षकै नेतृत्वमा आगामी महाधिवेशनमा जान तयार नरहेको संकेत देखिएको छ ।
गत मंसिर ११ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै कार्यसमितिको म्याद ६ महिना थप्ने निर्णय गरेको थियो । उक्त म्याद सकिन अझै दुई महिना बाँकी रहँदा महाधिवेशनको मिति घोषणा गर्नुपर्ने दबाब बढेको हो ।
राणा पक्षले अनुशासनविपरीत भएका गतिविधिको छानबिन गरी निष्कर्ष महाधिवेशनमा प्रस्तुत गर्न छुट्टै छानबिन समिति गठनको पनि माग गरेको छ ।
यसैबीच, पछिल्लो समय उपसभामुख पदमा उम्मेदवारी दिएको विषयलाई लिएर पनि पार्टी नेतृत्वको आलोचना भइरहेको छ । प्रतिनिधि सभामा ५ सांसद रहेको राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिए पनि उम्मेदवार सरस्वती लामा ले ५ मत मात्रै प्राप्त गरेपछि नेतृत्वको रणनीतिमाथि प्रश्न उठेको छ ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठ का अनुसार राप्रपाले वैशाख १६ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । उक्त बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा, पार्टी रणनीति, आगामी कार्यक्रम तथा केन्द्रीय कार्यसमितिको बैठक मिति निर्धारण लगायत विषयमा छलफल हुने जनाइएको छ ।
राप्रपाभित्र देखिएको यो विवादले आगामी महाधिवेशन र नेतृत्व चयन प्रक्रियामा थप प्रभाव पार्ने अनुमान गरिएको छ ।









