पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा बिहीबार आएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली मूलका आरोही निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ । मौसम अनुकूल भए शुक्रबारदेखि हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सुरु गरिने पाकिस्तानी अधिकारीहरूले जनाएका छन् ।
बीबीसीले पाकिस्तानको अल्पाइन क्लबलाई उदृत गरेर दिएको समाचार अनुसार हिमपहिरो स्थानीय समयअनुसार बिहीबार मध्याह्नतिर आएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन । टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा अर्का एक विदेशी आरोही रहेका छन् । टोलीको नेतृत्व नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाले गरिरहेका थिए ।
अल्पाइन क्लब अफ पाकिस्तानका वरिष्ठ उपाध्यक्ष करार हैद्रीले मौसमले साथ दिए स्कर्दुबाट उद्धार हेलिकोप्टर परिचालन गरिने जानकारी दिएका छन् । क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शदसहितको नेतृत्वले सरकारी निकाय तथा उद्धार संयन्त्रसँग समन्वय गरी खोज तथा उद्धारको तयारी गरिरहेको जनाएको छ ।
यसबीच, नेपाली दैनिक कान्तिपुरले निर्मल पुर्जाको ट्र्याकिङ उपकरणमा अझै गतिविधि देखिएको जनाएको छ । पुर्जाका व्यवसायिक साझेदार मिङ्मा ग्याबु शेर्पालाई उदृत गर्दै दिएको समाचारमा ट्र्याकिङ प्रणालीमा उपकरणको स्थान परिवर्तन भइरहेको देखिएको उल्लेख छ । यद्यपि, यसले टोलीको अवस्थाबारे आधिकारिक पुष्टि भने गर्दैन ।
आरोहणका लागि पाकिस्तान प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेख्दै पुर्जाले सुरुमा ग्यासरब्रुम–२ (जी–२) मात्र आरोहण गर्ने योजना रहेको बताएका थिए । तर, ब्रड पिक पनि सफलतापूर्वक आरोहण गर्न सके अक्सिजनबिनै विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्न आफू केवल एक हिमाल टाढा रहने उल्लेख गरेका थिए ।
उनले त्यसबेला लेखेका थिए, “यो योजना थिएन, तर अवसरले ठूलो आवाज निकाल्दैन, मौनतामा निरन्तर काम गरिरहेकाहरूलाई बिस्तारै बोलाउँछ ।” साथै उनले ब्रड पिकसँग सुरक्षित रूपमा उक्लन र फर्किन मात्र चाहेको तथा कुनै पनि हिमाललाई कहिल्यै सामान्य रूपमा नलिने बताएका थिए ।
पूर्व बेलायती रोयल मरीन सदस्य समेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल छ महिना केही दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । यसअघि उक्त कीर्तिमान सात वर्ष १० महिनाको थियो । उनीसँग पर्वतारोहणसम्बन्धी छ वटा गिनिज विश्व कीर्तिमान पनि छन् ।
ब्रड पिक विश्वकै कठिन आरोहण गन्तव्यमध्ये एक मानिन्छ । उद्धार टोलीले मौसममा सुधार आउनेबित्तिकै खोजी अभियान तीव्र बनाउने तयारी गरेको छ । हालसम्म सम्पर्कविहीन टोलीको अवस्थाबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।








