गीत गाह्रो विषय रहेछ, मुश्किलले लेखें–दीपा राई पुन, साहित्यकार

March 5, 2018

कविता, गीत र कथामा आफ्नो उपस्थिति जनाइसकेकी दीपा राई पुनले हालै ‘प्रतिरुप’ गीति एल्बम बजारमा ल्याएकी छिन् ।
आठ गीत रहेको एल्बम सार्वजनिक भइसकेको छ । एल्बमा रहेको दोस्रो नम्बरको गीत बिहानै बिहानैको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ। पाचँथरको रवीमा जन्मेकी दीपा झापाको दमकमा हुर्किन् ।

उच्च शिक्षाका लागि काठमाडौँ आएकी पुनले स्नातकोत्तरसम्मको अध्ययन त्रिभुवन विश्वविद्यालयबाट पुरा गरिन । स्कुल पढ्दा नाचगानमा रुचि राख्ने उनी अमेरिका पुगेपछि कविता लेखनमा बढी केन्द्रित भइन् । कविताका तीन संग्रह उनले प्रकाशित गरिसकेकी छन् । उनै साहित्यकार दीपा राई पुनसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

एल्बमको पहिलो गीत नै मुत्यसँग नडराउने मान्छे रहेछ, तपाई साँच्चै त्यस्तै हुनुहुन्छ ?
मलाई सबैभन्दा मनपर्ने गीत पनि यही हो । त्यसैले यसले नम्बर वान पायो । ‘म मृत्युसँग कहिले नडराउने मान्छे’ यो गीत भीषण मुकारुङको स्वर र पारस मुकारुङको संगीतमा आएको छ । म साँच्चै नै मृत्युसँग डराउँदिनँ । कथा भने अमेरिका पुगेका नेपालीको हो । अहिले धेरैलाई डिप्रेसन छ, आत्महत्या बढिरहेको छ । मानिस त मृत्युसँग डराउनु थालेका छन् । म डराउँदिन ।

तर, आत्महत्या पनि त मृत्युसँग नडराउनु हो नि हैन ?
होइन । आत्महत्या भनेको चाँहि जीवनलाई माया नगर्नु हो । उ वास्तविक मृत्यु कुर्न नसक्ने कायर हो ।

कति समय लाग्यो एल्बम बाहिर आउन ?
गीत एउटा जीवन रहेछ । संगीत, स्वर, लय सबै मिल्नुपर्ने रहेछ । कवितलाई भन्दा धेरै मलजल र माया पनि चाहिने रहेछ । त्यसैले गीतहरु बाहिर आउन निकै समय लाग्यो । निकै कठिन पनि भयो । एउटा गीतले अहिलेको रुप पाउन एघार महिना लाग्यो । लेखनको अन्तिम दिन निद्रै लागेन । १२ बजेदेखि २ बजेसम्मको फल भनौ । प्रसव वेदनाबाट जन्मिएको जस्तै भयो ।

गीततिर केले आकार्षित गर्‍यो ?
मलाई गीत गाउन रहर त पहिलेदेखि नै हो । सानोमा यसमा रुचि थियो । त्यतिबेला रेडियोमा गीत सुनेर बस्थ्यौ । गीतहरु दुई चार दिनमै कण्ठ हुन्थ्यो । दिदीबहिनी किचेनमै गीत गाउने र नाच्ने पालैपालो हुन्थ्यो । दिदीले गाउँदा बहिनी नाच्ने, बहिनीले गाउँदा दिदी नाच्ने । यसरी गीत गाउँदै नाच्दा कहिले भात डड्थ्यो, कहिले तरकारी ।

स्कुलसम्म यो प्रक्रिया चल्यो । तर कलेजमा आएपछि यो एकाएक रोकियो । यसले पनि गायनको लय समात्न नसकेपनि गीत त लेख्न सकिन्छ नि भनेर आँटेकी हुँ ।

बोस्टनदेखि नेपालसम्म एल्बम रिलिजकै लागि त आउनुभएको होला ?
गीत विमोचनकै लागि आएकी थिएँ । तर, खुसीको कुरा एकल कविता वाचन बोनसमा पाएँ । काठमाडौं, चितवन र धरानमा एकल कविता वाचन गर्न पाएँ । यो मेरो लागि सुनौलो मौका थियो । धेरै माया पाएँ ।

बोस्टनमै चाँहि कस्तो छ नेपाली साहित्यको अभ्यास ?
बोस्टनमा साहित्य कार्यक्रम केही सेलाएको छ । सबै साहित्यप्रेमीहरु व्यस्त हुन थालेका छन् । अब त सबै मिलेर घरमै गर्नुपर्छ यस्तो कार्यक्रम ।
तपाई सामाजिक सञ्जाल फेसबुकमा पनि आफ्ना रचना प्रस्तुत गरिरहनुहुन्छ, सजिलो भएको छ है ।
साहित्यप्रति जाँगर नसेलाओस भनेर आफैले आफैले उत्प्रेरित गर्न फेसबुकमा कविटा पोस्टिरहन्छु । यसबाट केही पाठक कमाएको पनि छु ।

यसरी राख्दा रचना चोरी हुन्छ भन्छन्, तपाईको कतिको चोरिएका छन् ?
चोरको पछि लागेर सम्भव छैन । एकपटक चोर्ला, दुई पटक चोर्ला तर अर्कोपटक त चोर्न सक्दैन । उसले मेरो कविता चोर्ला तर मेरो ज्ञान त चोर्न सक्दैन । मेरो शब्द चोरेर हुनेवाला केही हुने छैन ।

सम्बन्धित समाचार