पेनेल । पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ । घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले आइतबार जनाएका छन । मृत्यु भएका मध्ये अधिकांश कारभित्रै जलेका थिए भने घाइते हुनेमा अग्नीनियन्त्रकसमेत रहेका छन् ।
आगलागी नियन्त्रणको लागि करिब छ सय अग्नीनियन्त्रक र १६० भन्दाबढी सवारी साधन परिचालन गरिएको छ ।
लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट शनिबार अबेर सो आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन् ।
यस घटनापछि त्यहाँका प्रधानमन्त्री इन्टोनिओ कास्टोले आफूहरुले त्रासदी र वियोगको सामना गरिरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्नेसमेत जानकारी दिएका छन् ।
आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार पेद्रोगाओ ग्रान्दे जिल्लामा बनमा आगलागीका माझमा फसेर रहेका १६ जनाको ज्यान गएको थियो । त्यसैगरी तीनजनाको भने धुवाँले निसास्सिर ज्यान गएको पनि जानकारी दिएका थिए ।
पेद्रोगाओ नगरमा मेयरका अनुसार आगलागी नियन्त्रण गर्नको लागि पर्याप्त अग्नीनियन्त्रक नभएको र आगलागाीको कारण अहिलेसम्म प्रष्ट हुन नसकेको जानकारी दिएका छन् ।
घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।-एजेन्सी
४ असार २०७४, आइतबार
0
Shares