ललितपुर । साहित्यकार अनिल श्रेष्ठको निबन्धसंग्रह ‘टाइगर हिलकी पुनम’ विमोचन गरिएको छ ।
शनिबार ललितपुरको सातदोबाटोमा रहेको विवेकशील प्रकाशनमा एक कार्यक्रमकाबीच साहित्यकारहरु श्रीओम रोदन श्रेष्ठ, प्रमोद प्रधान, डा ऋषिराम शर्मा, नवीन विभास, मित्रलाल पंगेनी, डा पुष्कारराज भट्ट, संगीत श्रोता, विजयराज आचार्य, माधव घिमिरे अटल, कमल सुवेदीलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा डा पुष्करराज भट्टले किताब श्रेष्ठको निबन्ध बलियो र कसिलो भएको बताए । कवितामा कलम चलाइराखेका श्रेष्ठले जनयुद्धका विषयहरुलाई उनेको उल्लेख गर्र्दै कृति उत्कृष्ट रहेको बताए ।
मधुपर्कका सम्पादक एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदनले निबन्धहरु सलल बगेको बताए । निबन्धहरु रुचिकर रहेको र केही लेखहरुमा हतारो गरेको देखिएको उनको टिप्पणी थियो ।
प्राध्यापक डा ऋषिराज शर्माले किताब ७० प्रतिशत संस्मरण र ३० प्रतिशत निबन्ध पाएको टिप्पणी गरे ।
२१ निबन्ध रहेको किताबमा २०४८ देखि यात्रा संस्मरणहरुसमेत रहेको लेखक अनिल श्रेष्ठले बताए । विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको यो दोस्रो संस्करण हो । यस किताबको पहिलो संस्करण २०७१ मा आएको थियो । किताब परिमार्जन र निबन्धसमेत थपिएर बजारमा ल्याएको प्रकाशक विजयराज आचार्यले बताए ।