२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

अमेरिकाको न्युयोर्कमा ह्योल्मो जातिको आफ्नै सामुदायिक भवन, फोटोफिचर


१३ असार २०७६, शुक्रबार  

0
Shares

तेम्बा दोङ्बा ह्योल्मो/न्युयोर्क

विश्वको राजधानी मानिने अमेरिकाको न्युयोर्क शहरमा अल्पसंख्यक ह्योल्मो जातिको आफ्नै भवन स्थापना भएको छ । विगत पाँच वर्षदेखि ह्योल्मो सोसाइटी अफ अमेरिकाले अमेरिकामा आफ्नै सामुदायिक भवन स्थापना गर्न कोष संकलन गर्दै आएको थियो ।

न्युयोर्क सिटीको क्वीन्स बोरोको उडसाइडमा अवस्थित ४०-४५, ६८ स्ट्रिट कण्डोमिनियम भवनको कमर्सियल युनिट, जम्मा १८०० स्वायर फिटको, बेसमेन्ट र पहिलो तल्ला ह्योल्मो सोसाइटी अफ अमेरिकाले खरिद गरेको हो । ह्योल्मो सोसाइटी अमेरिकाले विगत पाँच वर्षदेखि सो भवन भाडामा लिएर ह्योल्मो सामुदायिक केन्द्र एवं धर्म सेन्टरको रूपमा सञ्चालन गर्दै आएको थियो ।

“ह्योल्मो सोसाइटी अफ अमेरिकाको बोर्ड अफ ट्रष्टीसको अथक प्रयास अनि सम्पूर्ण ह्योल्मो महानुभावहरूको सहयोग र सद्भाव अनि वर्तमान कार्यसमितिको विशेष पहलको फलस्वारूप ह्योल्मो सोसाइटी अफ अमेरिकाले यो भवन खरिद गर्न सकेको छ,” सोसाइटीका अध्यक्ष कर्म लामा दोङबा ह्योल्मोले भने। “आम ह्योल्मोहरूको साथ, समर्थन र सहयोग बिना यो सम्भव थिएन । यसकारण सबै सहयोगीहरू धन्यवादका पात्र हुन् र सबैलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु।” बोर्ड अफ ट्रष्टीका संयोजक तथा ह्योल्मो सोसाइटी अफ अमेरिकाको संस्थापक कोषाध्यक्ष पेमा लामा ह्योल्मोले भने । “भविष्यमा पनि सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा राखेको छु” उनले थपे ।

सन २०१४ को ल्होसार कार्यक्रममा अमेरिकामा ह्योल्मो सामुदायिक भवन स्थापना गर्ने परियोजना अघि सार्दै कोष संकलन कार्य शुभारम्भ गरेको थियो । आइआरएसबाट मुनाफारहित सामाजिक संस्थालाई दिईने कर छुटको मान्यता 501(C) प्राप्त नभएकोले कोष संकलन कार्य केही सुस्त गतिमा भैरहेको थियो । ह्योल्मो जातिको परम्परागत भेषभूषाको विवादले दुई समुहमा विभाजित रहेका अमेरिकी ह्योल्मो समुदाय एक भए लगत्तै सन् २०१५ मा हाल खरिद गरेको भवन भाडामा लिएर ह्योल्मो सामुदायिक केन्द्रको रूपमा संचालन गरिएको थियो । त्यसको केही महिनामै ह्योल्मो सोसाइटी अफ अमेरिकाले आइआरएसबाट करछुटको मान्यता 501(C) प्राप्त गरेपछि पुन कोष संकलन कार्यलाई सुचारू गरेर गत वर्षको ल्होसार कार्यक्रमसम्ममा सो भवन खरिद गर्नको लागि आवश्यक रकम संकलन गरिसकेको थियो ।

“गत वर्षको ल्होसार कार्यक्रमसम्ममा ह्योल्मो सोसाइटी अफ अमेरिकाले यो भवनको खरिद प्रकृया पूरा गर्ने लक्ष्यकासाथ हामी सबै कस्सिएका थियौ तर केही प्राविधिक तथा प्रशासनिक कामले गर्दा केही महिना लम्बिन गयो। अन्तत: भगवानको कृपा अनि सबै ह्योल्मो महानुभावहरूको साथ र सहयोगले आफ्नै ह्योल्मो सामुदायिक भवन स्थापना गर्न सफल भयौ, यही नै ठूलो कुरा हो “, ह्योल्मो सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष तथा बर्तमान बोर्ड अफ ट्रष्टीका सह संयोजक दावा ल्होबा ह्योल्मोले भने । विगतमा सो भवनको बेसमेन्ट मात्र भाडामा लिएको थियो भने हाल सो कण्डोमिनियम भवनको बेसमेन्ट र पहिलो तल्ला दुबै खरिद गरेर ह्योल्मो सामुदायिक केन्द्रलाई अझ फराकिलो बनाएको छ ।

“अब हाम्रो आफ्नै सामुदायिक भवन भएपछि युवा तथा बालबालिकालाई पनि लक्षित गरेर उनीहरूको सकृय सहभागितामा विविध सृजनशील कार्यक्रमहरू आयोजना गर्ने सोच बनाएका छौ ।

साथै आम अमेरिकी ह्योल्मोहरूसँग सरोकार राख्ने ईमिग्रेसनसम्बन्धी कानुनी परामर्श तथा न्यूयोर्क सिटीसँग सहकार्य गर्न मिल्ने कार्यक्रमहरूलाई पनि प्राथमिकता दिएर अघि बढ्ने सोच बनाएका छौ”, ह्योल्मो सोसाइटी अफ अमेरिकाका एक सकृय कार्यसमिति सदस्य धुण्डुप लामा ह्योल्मोले बताए ।

अमेरिकामा ह्योल्मो सामुदायिक भवन स्थापना गर्न आवश्यक कोष संकलन कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई अपिल गर्दै कार्य सफलताको शुभकामना दिने अमेरिकाको न्युयोर्कस्थित महावाणिज्यदुतावास, नेपाल ह्योल्मो समाज सेवा संघ, ह्योल्मो समाज सेवा केन्द्रलगायत सबै शुभचिन्तकहरूलाई ह्योल्मो सोसाइटी अफ अमेरिका र आम अमेरिकी ह्योल्मो समुदायको तर्फबाट वर्तमान अध्यक्ष कर्म लामा दोङबा ह्योल्मोले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : ३८ बजे