२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

इरानको हर्मुज जलडमरू मार्गमा अमेरिकी नाकाबन्दी पुनः लागू गर्ने ट्रम्पको घोषणा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहहरूलाई लक्षित गर्दै हर्मुज जलडमरू मार्गमा अमेरिकी नाकाबन्दी तत्काल पुनः लागू गर्ने घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका अब उक्त रणनीतिक जलमार्गको “संरक्षक” रहने र त्यसबाट ओसारपसार हुने सबै कार्गोमा सुरक्षा व्यवस्थापनको खर्चका लागि २० प्रतिशत शुल्क लगाइने बताएका छन् । यद्यपि यो व्यवस्था व्यवहारमा कसरी लागू गरिने भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

ट्रम्पको घोषणापछि इरानले हर्मुज जलडमरू मार्गको व्यवस्थापनमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र मामिला समितिका प्रवक्ता इब्राहिम रेजाईले “हामीलाई जलडमरूमध्यको सुरक्षा गर्न विदेशीको आवश्यकता छैन” भन्दै अमेरिकी कदमको विरोध गरेका छन् ।

यसैबीच अमेरिका र इरानबीच सैन्य आक्रमण पनि जारी छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले रातभर इरानको एक पनडुब्बी तथा नौसैनिक जहाज मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ । अमेरिकी पक्षका अनुसार हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजमाथि इरानले गरेको आक्रमणको प्रत्युत्तरस्वरूप यो कारबाही गरिएको हो ।

इरानले भने जोर्डन, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डा तथा ओमानका राडार प्रणालीलाई निशाना बनाएको दाबी गरेको छ । बहराइनले भने इरानी आक्रमण सर्वसाधारणलाई लक्षित भएको आरोप लगाएको छ ।

जहाज ट्र्याकिङ सेवा मरीन ट्राफिकका अनुसार केही जहाजले हर्मुज जलडमरूमध्य पार गरिरहेका भए पनि आवागमन अझै सीमित रहेको छ । युद्ध चर्किएसँगै विश्वकै प्रमुख ऊर्जा व्यापार मार्गमध्ये एक मानिने यो जलमार्गमा जहाजको आवतजावत उल्लेखनीय रूपमा घटेको छ ।

हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ । अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार सन् २०२५ मा दैनिक करिब दुई करोड ब्यारेल तेल तथा पेट्रोलियमजन्य पदार्थ यही मार्गबाट ढुवानी भएका थिए । विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गर्छ ।

अमेरिका–इरान तनाव चुलिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढ्न थालेको छ । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढी वृद्धि भएर प्रतिव्यारेल करिब ७९ अमेरिकी डलर पुगेको छ । बढ्दो ऊर्जा मूल्यका कारण अमेरिकी सेयर बजारमा पनि गिरावट आएको छ । डाउ जोन्स, नास्डाक र एस एन्ड पी ५०० सूचकांक घटेका छन् भने बढ्दो मुद्रास्फीति र विश्व आपूर्ति शृंखलामा असर पर्ने चिन्ताले लगानीकर्ता सतर्क बनेका छन् ।

विश्लेषकहरूका अनुसार हर्मुज जलडमरूमध्यमा जारी तनाव लम्बिए विश्व ऊर्जा बजार, समुद्री व्यापार र मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने जोखिम बढेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १० : ३४ बजे