भागी जाने मोह, फेरि किन गाढा
उर्ली आउँछ चाहना छिनभरको
माया नसाँचेको हैन, निष्ठुरी बनेको हैन
बेसमयी भावनाहरु आउँछन् यसै
‘माया फेरि’ शीर्षकको यो गीत हालै युट्युबमार्फत सार्वजनिक भएको हो । गीतका सर्जक एवं गायिका हुन् सिम्मा राई । भोजपुर दिल्पा पुख्र्यौली भए पनि उदयपुर बसाहा हुँदै काठमाडौं आइपुगेको परिवारमा कान्छी छोरीको रुपमा जन्मिइन् उनी । राईभित्रको वान्तावा भाषामा कान्छी छोरीलाई सिम्मा भनिन्छ । यही नै रह्यो नाम । एस कलेजबाट एमबिए, पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर र पुल्चोक इन्जिनियरियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ सकाएपछि संगीत रोजेको बताउँछिन् । युट्युबमा उनका कभर गीतसँगै उनकै तीन गीत पनि हेर्न सुन्न सकिन्छ । उड तिमी, नौलो बिहानी र माया फेरि उनको आफ्नै गीत । यसो त उनी एक वर्षअघि नाइट ब्यान्डमा आबद्ध थिइन् । चार महिना यही ब्यान्डबाट युरोप यात्रामा निस्किइन् । अहिले भने उनी ब्यान्डबाट अलग्गिएकी छिन् । यद्यपि सांगीतिक यात्रामा भने सक्रिय नै । उनै गायिका सिम्मा राईसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले सांगीतिक यात्राबारे गरेको कुराकानी:
तपाईंको पढाई कम्प्युटर इन्जिनियरिङ, गायन क्षेत्रमा कसरी आइपुग्नुभयो ?
पढाई राम्रो थियो । डाक्टर÷इन्जिनियर हुन्छ भन्ने थियो । म्याथमा राम्रो थियो । त्यही भएर इन्जिनियरिङ छानें । स्कलरसिपमा नाम निस्क्यो पुल्चोक क्याम्पसमा । करियर सिरियसली सोचिनँ । कम्प्युटर प्रोग्रामिङतिर लागियो । यहाँ काम गर्दागर्दै कम्प्युटर ह्युमन कनेक्सन कसरी गर्न सकिन्छ भनेर सोचिरहन्थे । यही विषयमा पढ्नुपर्छ भन्ने लाग्थ्यो । पछि फिल भयो । म्युजिकबाट इन्स्पायर्ड हुन थाले । सन्तुष्टि पनि मिल्न थाल्यो । आफूले सोचेजस्तो संगीतमै लागेर बन्छु जस्तो लाग्यो । आफैले आफैलाई बुझ्न थाले र संगीत रोजे ।
त्योभन्दा अघि गीतप्रतिको लगाव कतिको थियो ?
सानोमा खेलकुद र नाचमा लगाव थियो । कक्षा १० मा अलिअलि गाउन थालें । कक्षा ११ मा कम्पिटिसन हुँदा पहिलो भएँ । त्यसै बेलाबाट सिक्न मन लाग्यो गायन । काम गर्दै काठमाडौं जज कन्जरभेटरी(केजेसी)मा क्लास लिएँ । त्यही सिलसिलामा ‘उड तिमी’ पहिलो गीत रेकर्ड भयो ।
अभिभावकको सुझाव कस्तो हुन्थ्यो त्यो बेला ?
घरबाट पनि कम्प्युटर साइन्समै अघि बढोस् भन्ने थियो । तर, २०१७ मा एमबिए सकेर नाइट ब्यान्डमा जोइन भएँ । ९ महिना जति काम गरें । जिम्मेवारी गायिकाको । ४ महिना युरोप टुरमा पनि गएँ । पछि छाडें । आफ्नो गीतहरुमा समय दिउँ भनेर । गाउनु सँगसँगै कम्पोजिसन सिक्न मन थियो । अहिले पियानो र भोकलमा फोकस छ । डिप्लोमा यही विषयमा गर्दैछु केजेसीबाटै ।
गायनबाहेक अरु समय के गर्नुहुन्छ ?
म्युजिककै पढाई । अहिले डिप्लोमा गर्दैछु केजेसीबाट पियानो अनि भोकलमा । आफ्नै गीत तयारीबाहेक पढाउँछु पनि । केजेसीबाटै सिकाउन शुरु गरेको । अहिले नेपाल म्युजिक सेन्टर र काठमाडौं मेरिडन स्कुलमा म्युजिक पढाउँछु ।
‘माया फेरि’ आफैले लेख्नुभएको रहेछ, कसरी तयार भयो यो गीत ?
माया फेरि ३ वर्ष अगाडि लेखेको । जीवनको अनुभव हुन्छ नि आफ्नै । लिरिक्स ध्यान दिएर सुने लाइफ स्टोरी गेस गर्न सकिन्छ । मलाई पुरानो नेपाली गीत मनपर्छ । त्यही बजाउँदा बजाउँदै यो कोरस धुन निस्क्यो । थिम थाह थियो । कोरस लिरिक लेख्न समय लागेन । भर्सहरु बनाउन चाहि अलि टाइम लाग्यो । कर्ड्सहरु बनाउन टाइम लाग्यो । फाइनल बनाएर फेरि चेन्ज गरे । एक वर्ष अगाडि सबै एरेन्ज भइसकेको थियो । तर गीतको फिल नआएजस्तो लागेपछि २ महिना लगाएर कर्ड्सहरु सबै चेन्ज गरे । दिवस गुरुङ दाईको ठुलो फ्यान हुँ म । दाईसँग एकिदन काम गर्न पाउँ भन्ने मेरो सपना थियो । यो गीतमार्फत मैले दाईसँग काम गर्न पाएँ । धेरै खुसी छु सपना पुरा भएकोमा । अहिलेको चाहि चित्त बुझेपछि रिलिज गरेकी हुँ । यसमा दिवस गुरुङ र बिजेन्त विक्रम शाहको निकै सहयोग रह्यो ।
भिडियोमा इलुस्ट्रेसन प्रयोग गर्नुभएको छ, यस्तो गर्नुको कुनै कारण ?
गीत आउँदा नै इलेस्ट्रेसन सोचे । मान्छे नै राखेर हुन्न जस्तो लाग्यो । ड्रिमी टाइपको छ नि । मलाई सनसेट मनपर्छ । इभनिङ टाइममा छतमा बसेर गीत तयार गर्छु । यसमा काल्पानिक संसार भएकोले पनि इलस्ट्रेसन प्रयोग गरेकी हुँ । लक्कीली इलस्ट्रेटर र एनिमेटर साथीहरु पनि हुनुहुन्थ्यो र यो सम्भव भयो । साथी सिर्जित राजभण्डारी र कन्चनको स्टुडियो छ सिक्सवासनाइन कम्पनी । त्यहीबाट यो तयार भएको हो । उनीहरुको काम एकदम राम्रो लाग्थ्यो । उनीहरुले यो गीतको भाव बुझिदिएकाले पनि भिडियो यति राम्रो बन्यो ।
यो गीतको कथा के हो ?
माया फेरिमा स्टोरी डेभलोपमेन्ट छ । माया छुटिँदा वितृष्णा हुन्छ । कुनै समय त्यही मान्छे नै आफ्नो संसार जस्तो लागेको पनि अपरिचित जस्तो हुन पुग्छ । सम्बन्ध छुट्टिँदा दुबै पक्षलाई पीडा हुन पुग्छ । त्यही भएर व्यर्थ हुने माया नगर्ने भनेर सोचेका हुन् पात्रले । तर नयाँ मान्छे आउँछ अनि साँझको हावा अनि जुनेली रातले त्यो भावना परिवर्तन हुन्छ । भर्सबाट कोरसमा जाँदा स्याडबाट ह्याप्पी मुडमा जान्छ । गीतसँगै फिलिङ्स चेन्ज हुँदै जान्छ । म्युजिकमा त्यो मुड चेन्जलाई क्याप्चर गर्न खोजेको चाहि यसमा पात्र आफै धेरै सोच्ने प्रश्न गर्ने अनि आफै रमाउने यस्तै छ ।
कस्ता गीतहरु बढी सुन्नुहुन्छ आफैंचाहिँ ?
सबै राम्रो लाग्छ । सोल, जज, गोस्पेल, फोल्क, पप, नेपाली, आधुनिक, हिन्दी गीत, वेस्टर्न क्लासिक, इस्टर्न क्लासिक सबै । समयअनुसार चेन्ज हुँदै जान्छ । नेपालीमा धेरै पुरानो गीत सुन्छु । फत्तेमान, नारायण गोपाल, शान्ति ठटाल, गोपाल योञ्जन अम्बर गुरुङ अरुणा लामा सुन्छु धेरै । शान्ति ठटालबाट धेरै इन्स्पायर भएकी हुँ । उहाँ फिमेल सिंगर सँगै कम्पोजर पनि । पलेटीमा भेटेकी थिएँ । भेट्दा उहाँको पर्सनालिटी अनि इनर्जीबाट धेरै प्रभावित भएँ । सेन्स अफ ह्युमर पनि छ । उहाँको गीत सम्हालेर राख पनि कभर गरेकी छु । पुरानो गीतको लिरिक्स एकदमै राम्रो हुन्छ । तर अब नेपाली म्युजिक सिनको लागि धेरै आशावादी छु । अहिले आएर नेपाली म्युजिक सिन एकदम राम्रो बनेको छ जस्तो लाग्छ ।
पछिल्लो गीत निकै ग्यापमा रिलिज भयो नि ?
म अर्कै फिल्डबाट आएँ । मेरो खास ट्रयाक इन्जिनियर बनेर यसैमा थप अध्ययन गर्ने योजना थियो । म्युजिक मेरो नयाँ फिल्ड हो ।उड तिमी गर्दा पनि म्युजिक कम्प्लिटली गर्छु भन्ने थिएन । मिनिङफूल गीत गाउँ भन्ने इच्छा थियो । पछि म्युजिक सिक्दै जाँदा यसमा लगाव बस्दै गयो । बाहिर पढ्न जाने कुरा झन सर्न थाल्यो । मेरो सर्कलका साथीहरु धेरै इन्जिनियर नै थिए । सबै एउटै ट्रयाकमा थिए । आफू के हो म्युजिक किन गर्ने म्युजिकमा लाग्ने भए कसरी लाग्ने कसरी बाँच्ने ? ब्याकग्राउन्ड केही छैन । आफूभित्रको भ्वाइसलाई सुन्न अनि बलियो बनाउन समय लाग्यो ।मेरो फेमेली पनि धेरै टेन्सनमा हुनुहुन्थ्यो । ढिला आएर छोरी म्युजिकमा इन्ट्रेस्टेड भएको देखेर डराउनुभयो । मास्टर पढ्ने कुरा पनि पछि सार्दै थिए । साथीहरुको ट्रयाक क्लियर थियो । म भने रुमल्लिएको । म्युजिक जस्तो कुरा धेरैजसो बच्चामा नै शुरु हुन्छ । म बच्चमा गाउँदिनथे । म्युजिकमा इन्ट्रेस्टेड भए किन बच्चामा गरिनँ मैले भन्ने प्रश्नले पनि धेरै रिंगायो । मेरो फ्यामेलीलाई पनि विश्वास थिएन मैले म्युजिक गर्छ भनेर । म म्युजिक भर्खर सिक्दै थिएँ । बाहिर पढ्न गए रोकिन्छ भन्ने चिन्ता आफूलाई छँदै थियो । त्यसैले यतै एमए र एमबिएको पढाइ क्लियर गरे । त्यसपछि म्युजिकमा झन् लगाव बढ्यो । खोज गर्दै जाँदा आफूले लिरिक लेख्न सक्दो रैछु । कम्पोज पनि गर्न सक्दो रैछु भन्ने कुरा थाह पाएँ । माया फेरि गीत गर्न पनि धेरै समय लाग्यो ।
अहिले के भन्नुहुन्छ बाआमाले ?
मेरो प्यारेन्टसलाई बुझ्न मलाई पनि टाइम लाग्यो । आफ्नो सन्तानले दुख नपाओस भन्ने हुने रहेछ बाआमाको मन । जे पढेको छ त्यही बाटो समातोस् भन्ने हुने रहेछ । उहाँहरु डाक्टर वा इन्जिनियर बनोस् भन्ने थियो । पिएचडी गरोस् भन्ने थियो । तर, मैले संगीतमै निरन्तरता दिएकाले अब यसैमा सपोर्ट गर्न थाल्नुभएको छ । उड तिमी गीत पहिले अर्कै सोचले गाएको थियो । अहिले अभिभावकले आफ्नो सन्तानलाई गाएको जस्तो लाग्छ । सबैसँग छोडे पनि परिवारबाट त साथ नछोडिने रहेछ । आमाबुवाले छोराछोरीलाई प्रोटेक्ट गर्न खोज्नुहुन्छ । तर, प्रोटेक्टमात्र गरेर राख्यो भने त केही गर्न सकिदैन ।
कस्ता गीतहरु गाउन मनपराउनुहुन्छ ?
जे कुरामा पनि इन्टेन्सन महत्वपूर्ण लाग्छ । जुन गीत पनि इमान्दारीका साथ बनाएको छ भने राम्रो लाग्छ । यस्तै गीत गाउँनुपर्छ भन्ने लाग्दैन ।
भावी दिनमा कसरी अगाडि बढ्नुहुन्छ ?
आउने दिनहरुमा आफूलाई एक्स्प्लोर गर्ने हो । संगीत नै रोजिसकें । यो अथाह पनि छ । कम्पोजिसन एरेन्जमेन्ट अनि गीत लेख्न अझै मेहनत गर्छ । कविहरुसँग सहकार्य गर्न मन छ । अरु आर्टिस्टहरुसँग पनि सहकार्य गर्न मन छ । पछि थिएटर पनि गर्ने मन छ । म्युजिकको फरक जनरा अनि सांस्कृतिक गीत बनाउन र गाउन मन छ । जिन्दगी के हो ? भन्ने अनि मान्छेहरुको स्टोरी पढ्ने जिन्दगीको अर्थ खोतल्ने यस्तैमा रुचि छ ।